गएकाे स्थानीय तह निर्वाचनमा भारी मतान्तरले काठमाडौँ महानगरपालिकाको मेयर पदमा निर्वाचित भएपछि बालेन्द्र साह रवाफका साथ प्रस्तुत भए। निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मतले विजयी उनको लोकप्रियता एकाएक चुलियो।
राजधानीका केही युवा माझ परिचित बालेन्द्र जनमानसमा चिनिए। चुनाव जितेलगत्तै उनी डोजर र नगर प्रहरीका साथ सडक विस्तार अभियानमा लागे। उनको त्यो अभियानलाई साथ दिनेहरू दिनदिनै बढे। सात महिनाअघि सडक छेउछाउमा निर्माण गरिएका अनाधिकृत भौतिक संरचना हटाउने महाअभियानसँगै फुटपाथमा सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गरेकाहरू अहिले बिलखबन्दमा छन्।
काठमाडौँ महानगरको अभियानबाट पीडित हुने हजारौँ खुद्रा व्यापारी मध्ये एक हुन्, दुर्गा कुमारी पौडेल। मेयर बालेन्द्रको अभियानले गर्दा सात महिनादेखि उनको भोक–निन्द्रा हराएको छ। काठमाडाैंकाे खाल्डाेमा कसरी बाँच्ने भन्ने चिन्ताले सताएकाे छ।
७७ वर्षीया दुर्गा असनको इन्द्रचोक नजिकै डोकोमा चाऊचाऊ, चुरोट, चक्लेट र बिस्कुट लिएर कपडा पसलको सिंढीमा बस्थिन्। 'मेराे काठमाडाैंमा काेही पनि छैनन्। गाउँमा मेराे नाममा घर–जग्गा पनि छैन। मैले विहे पनि गरिनँ। बाआमा बितिसके। मलाई हेर्ने काेही छैन। उमेर पनि ढल्किसक्याे,' उनले भनिन्।
गाउँमा अनेकाैँ समस्या भएपछि दुर्गा १५ वर्षअघि 'सपनाको सहर' काठमाडौँ आएकी थिइन्। तर उनले सोचे जस्तो कहाँ थियो र काठमाडौंको जीवन? राजधानी आएको १५ वर्ष बितिसक्दा पनि उनले सोचेजस्तो जीवन कहिल्यै भेटिनन्। अविवाहित ७७ वर्षीया दुर्गा चोखाचे चुरा गल्लीमा मासिक तीन हजार तिरेर ओत लाग्दै आएकी छिन्। दिनभरको कमाइ कोठा भाडा तिर्न र खानाको जोहो गर्न ठिक्क थियो। मेयर बालेन्द्रले सडक पेटीमा व्यापार गर्न नदिने भनेपछि उनको जीविका संकटमा छ।
'महिनाको तीन हजार कोठा भाडा तिरेपछि खाना–लाउन नै मुश्किल हुन्छ। बुढेसकाल लागिसक्यो औषधी किन्न नि कहिले काहिँ त पैसा हुँदैन,' दुर्गाले भनिन्। आइतबार बिहान इन्द्रचोकको चिसो भुइँमा बस्न पनि मुस्किल भइरहेको थियो। कतिबेला नगर प्रहरीले दुःखले जुटाएकोे सामान उठाएर लग्ने हो भन्ने डरले घरिघरि इन्द्रचोक तिर हेरिरहन्थिन्।
पछिल्लो समय महानगरका मेयर बालेन्द्रले सडक व्यापारीमाथि गर्दैआएको व्यवहारका कारण साना व्यवसायीहरू त्रसित छन्। 'खै के गर्न खोजेको हो? अब बुढी भएँ मलाई त केहि थाहा छैन, विकास गर्नको निमित्त हामीलाई यस्तो गरेको भन्छन् मेयरसाप। उहाँले भनेपछि होला विकास हामीलाई यत्रो दुख दिएको,' उनले दुःखेसो पोखिन्।
महानगरले सडकछेउमा व्यवसाय गर्नेहरूलाई हटाउन थालेपछि उनको दैनिकी फेरिएको छ। बालेन्द्र मेयरमा निर्वाचित हुनुअघि सम्म उनी ६ बजे उठ्थिन्। अनि काेठामा पकाएको खाना खाएर बिहानको १० बजेतिर आफ्नो सामान बोकेर इन्द्रचोकमा व्यापार गर्न आउँथिन्, ७७ वर्षीया दुर्गा। दिनभरको व्यापारले जसोतसो उनको जिन्दगी चलिरहेको थियो।
'त्यो बेला अलिकति भएपनि व्यापार हुन्थ्यो, अहिले त कतिबेला महानगर प्रहरी आउँछन् र समान लगिदेला भन्ने डर हुन्छ। बुढी भएकोले भाग्न पनि सक्दिनँ, अरू केही उपाय पनि छैन। यही एक डोको समानको आडमा जिन्दगी चलिरहेको छ, कुन दिन यो पनि लगिदेला भन्ने डरले एकदम गाह्रो बनाएको छ,' दुर्गाले भनिन्।
बुढेसकालको सहारा समेत कोही नभएकी उनी मेयर बालेन्द्रको ज्यादतीले आफ्नो भविष्य र जीविका अन्याैलमा परेको बताउँछिन्।
नगर प्रहरीको रबैयाका कारण प्रताडित हुने हजाराैँ दुर्गाहरू राजधानीमा लहरै भेटिन्छन्। ती मध्येका एक हुन्, ४५ वर्षीया शान्ता।
हनुमानढोका छेउ एउटा सानो कोठामा उनीसहित ६ जना परिवार बस्दै आएकाे छ। तीन जना छोरी र एक छोरा छन्। १७–१८ वर्षे छोराछोरी बदाम बेचेर पढाउँदै आएकी छिन्, शान्ता। ३५ वर्षअघि १० वर्षको उमेरमा काभ्रेबाट काठमाडौं आएकी शान्ताको कथा पनि दुर्गाको भन्दा कम कष्टकर छैन।
काठमाडाैंका सडकपेटीमा संघर्ष गर्न थालेको तीन दशक बितिसक्यो। तर पनि उनको अवस्थामा केही परिवर्तन आएकको छैन। अहिले दायाँ खुट्टा भाँचिएकाले इन्द्रचोकसम्म सामान लैजान पनि छरछिमेकलाई हारगुहार माग्नुपर्छ। चिसोका कारण खुट्टा झन् दुख्ने भएकाले उनी घाम लाग्ने ठाउँ खोजेर आफ्नो व्यापार गर्न बस्छिन्। 'जो नेता सत्तामा आएपनि दुःख र पीडा जहिल्यै गरिबलाई नै हुँदो रहेछ,' शान्ताले गुनासो पोखिन्।
खुद्रा व्यापारीप्रति बालेन्द्रको ज्यादतीपूर्व एकदिनको आधा बोरा बदाम बेच्थिन्, उनी। तर अहिले दिनको १ माना व्यापार हुन पनि मुस्किल हुन्छ। एक साताअघि प्रहरीले सामान जबरजस्ती उठाउँदा माना पनि खोसेर लगेको उनले बताइन्। 'मेरो खुट्टा भाँचिएको छ। मेरो सामान नलगिदिनुहाेस् न भन्दै कति गुहारें तर पनि उनीहरूले सुन्दै सुनेनन्,' उनले भनिन्।
चुनावअघि मेयर बालेन्द्रले अरू राजनीतिक दलका नेताहरूको धेरै आलोचना गर्थे। सत्ता सम्हालेका नेताहरूले गरिब–दुःखी जनताको लागि केही गरेनन् भन्थे। तर निर्वाचित भएर सत्तामा पुगेपछि उनै बालेन्द्र अनुदार भएको सडक पेटीमा व्यापार गरेर जीविका चलाउँदै आएका पीडितहरू बताउँछन्।
'मेयरसाप गरिबको चमेली बोल्दिने कोहि छैन भन्ने गीत बजाउँदै भोट माग्न आउँथे। तर अहिले सम्म गरिब मार्ने काम बाहेक केही गरेका छैनन्,' उनले रूँदै बिएल नेपाली सेवासँग भनिन्, 'हामीलाई यहाँबाट उठाएर कुनै अर्काे ठाउँमा व्यवस्थापन पनि गरेका छैनन्। एकदिनको कमाइले घर चलाउने हो, व्यापार भएन भने गाह्रो हुन्छ।'
सत्तामा आएपछि मेयर बालेन्द्र धेरै विवादित छन्। टुकुचा खोला अतिक्रमण भएको कारण उत्खनन् गर्ने अभियान सुरू गर्दा डोजरले स्थानीयको घर र सडक भत्काउने काम गरेकाले अहिले कमलपोखरी क्षेत्र वरिपरि खनिएको खाल्डो भासिन थालेको स्थानीयको गुनासो छ।
पहिले खन्नेबेला आवश्यक सुरक्षा सावधानीहरू नअप्नाउँदा अहिले जमिन भासिने मात्र नभई ढल फुटेर दुर्गन्धित हुन थालेको छ।
पुरातात्विक विभागको क्षेत्रधिकार अन्तर्गत पर्ने एकसय वर्षे पुरानो टुकुचा बालेन्द्रले सम्बन्धित निकायको अनुमति र सल्लाहबिना नै आफूखुसी उत्खनन गरेका थिए। जब डोजर चल्यो र त्यहाँका स्थानीयले विरोध गरे, पुरातात्विक विभागले सूचना जारी गरेपछि मात्र उनको अभियान रोकिएको थियो।
जनता भडकाउने र कानुन विपरित काम बालेन्द्रले टुकुचा खन्नेबेला मात्र त गरेका हैनन्। नेपाल सम्वत् ११४३ को अवसरमा आयोजित कार्यक्रममा उनले सेनाको सुरक्षा घेरामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा खण्डमा धावा बोल्न आदेश दिएका थिए। उनको आदेश सिरोपर गर्दै कार्यक्रममा सहभागी जनता विमानस्थलमाथि आक्रमण गर्न तयार भइसकेका थिए। सम्पदा अभियन्ता यादवलाल कायस्थले हस्तक्षेप गर्दै उत्तेजित भीडलाई रोकेर त्यस दिन सम्भावित ठूलो घटना टारे। उत्तेजित भीडले उनको आदेश पालन नगरेकोमा आक्रोशित भएर फर्किए।
सम्पदा मास्नुका साथै सडक पेटीमा व्यवसाय गर्दै आएकाहरूलाई कुनै विकल्प नै नदिएर हटाउँदा धेरैको रोजीरोटी खोसिएको छ। सडकको कुनामा व्यापार गर्दै आएकाहरू निराश छन्। ती मध्येका एक थिए, 'कम बौद्धिक क्षमता' भएका भीमसेन।
सिनामंगल बस्ने ४१ वर्षीया भीमसेन एक डोको खुद्रा सामग्री लिएर झोक्राइरहेका थिए। ९ वर्षको उमेरमा उनी दोलखाबाट काठमाडौँ आएका थिए। बालेन्द्रको अत्याचार भन्दाअघि दिनहूँ ३०० देखि ४०० को कमाइ गरेर आफ्ना ३ छोरा–छोरि पाल्ने भीमसेन अहिले दिनको १०० रूपैयाँ पनि व्यापार नहुने बताउँछन्।
'हामी जस्ता गरिबको लागि केही राम्रो गर्छ कि भनेर बालेन सरलाई चुनावमा भोट हाल्यौँ. तर अहिले हामीमाथि नै यसरी अत्याचार भइरहेको छ,' भीमसेनले भने।
काठमाडाैं खाल्डाेमा भीमसेन, शान्ता र दुर्गाजस्ता कैयाैँ पात्र छन्। उनीहरू असन–इन्द्रचोकको गल्लिमा सजिलै भेटिन्छन्।
सबैको कथा बेग्लै भएपनि पीडा समान छ। उनीहरूकाे एउटा गुनासो छ– बालेन्द्रले गरिबकाे पेटमाथि हात हाल्दैछन्। फुटपाथ खाली गर्ने अभियानले स्थानीय र यात्रुलाई त सजिलो भएको होला तर त्यही फुटपाथमा २–४ पैसा कमाएर आफू र आफ्नो परिवार पाल्ने साना व्यापारीहरू मर्कामा छन्।
०००
सहरमा मेयर बालेन्द्रका उतिकै प्रसंसक छन्। नयाँ बानेश्वरमा हिँडिरहेका २६ वर्षीय ध्रुब बराल भन्छन्, 'बालेनले जे गर्याे, ठिक गर्याे। पहिले सडकभरि व्यापारीले अतिक्रमण गरेर हिँड्ने बाटो हुँदैन्थ्याे तर अहिले धेरै सजिलो छ। अहिले ५ मिनेटमा पुग्ने ठाउँमा पहिला २० मिनेट लाग्थ्यो।'
मेयर बालेन्द्रले सडक व्यापारीलाई हटाएपनि पार्किङक्षेत्र लथालिङ्ग छ। असन इन्द्रचोकको गल्लीमा भद्रगाेल अवस्थामा पार्क गरिएको देख्न राम्राेसित देख्न सकिन्छ। व्यापारीहरू भन्छन्, 'हामीलाई जबरजस्ती उठाएर के गर्नु यता आउने अरु मान्छे सडकमा जथाभावी बाइक र गाडी लम्पसार पारेर हिँडछन्। के उनीहरूलाई चाहिँ कानुन नलाग्ने हो र? पेलिनुपर्ने जहिल्यै हामी गरिखाने नै हो र?'
के भन्छ महानगर प्रहरी बल?
महानगरले अहिलेसम्म लाखौं मूल्य बराबारको खुद्रा सामान व्यापारीबाट उठाएको छ। प्रहरीले त्यो समान बागदरबार लगेर के गर्छ भन्ने विषयमा निकै चियोचर्चो र अनुमान पनि जनमानसले लगाउन थालिसकेका छन्।
तर, महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले भने, ’त्यो जफत गरिएको सामानहरू हाम्रो स्टोरमा रखिएको छ। प्रक्रियाहरू पूरा भएपछि सबै सामान लिलामीमा जान्छ।’
'प्रहरीले हिरासतमा लिएका समान नगरपालिकाका कर्मचारीहरूले मिलेमतोमा बेचबिखनदेखि घरसम्म लैजान्छन् रे नी' भन्ने प्रश्नमा उनले भने, 'हिनामिनाको त कुनै सम्भावना नै छैन। तपाईंहरू यहाँ स्टोरमा आएर हेर्नुस् सबै कुरा निष्पक्ष र पारदर्शी छ।'