प्रहरी प्रमुख पाण्डेको ‘अनियमितता र ज्यादती’ विरुद्ध महानगरकै प्रहरी (भिडियाे)

सुहन श्रेष्ठ

काठमाडाैँ

काठमाडाैं महानगर प्रहरी बलमा तीन दशकदेखि आवद्ध नगर प्रहरी नायव निरीक्षक लोकनाथ चुडाल आफ्नै संगठनका 'नाइके' अर्थात् निमित्त एसपी राजु पाण्डेविरूद्ध खनिएका छन्। 

आफू कार्यरत महानगर प्रहरी बलभित्र व्यापक अनियमितता र महिला प्रहरीमाथि दुर्व्यवहारजस्ता घटना भइरहेकाे चुडालकाे दाबी छ।

साेमबार बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने, 'समाजले सिंग्हम मानेका महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे नै उक्त विकृतिको मूल कारक बनेका छन्।'

महानगरका मेयर बालेन्द्र साहले आफ्नै अभियानमा परिचालन गरेका नगर प्रहरीहरूको हेरचाह नगरेको र घाइते हुँदासमेत प्रहरी प्रमुखले वास्ता नगरेकोमा चुडाललगायत अन्य प्रहरीहरू महानगर प्रशासनसँग रूष्ट छन्।

मेयर साहकाे हुर्मत लिएर एसपी पाण्डेले महानगर प्रहरीमाथि देखाएकाे नराम्राे व्यवहार र थिचाेमिचाेका कैयाैँ कथा छन्।

बालेन्द्रकाे ज्यादतीमा पिल्सिएका 'भीमसेन'हरू

२५ वर्षीया गंगा उप्रेतीले आफ्नो ८ महिने दुधे-बालकको हेरचाहमा समस्या भएकाे भन्दै एसपी पाण्डेसँग फिल्ड ड्युटी कम गर्न माग गरिन्। तर पाण्डेले 'तैँले मेरो बच्चा पाइदिएको होस् र' भन्दै उनीमाथि उल्टै दुर्व्यवहार गरे।

आफ्नो अभिभावकजस्तो मान्छेको मुखबाट त्यस्तो अनैतिक र तुच्छ शब्द सुनेपछि उप्रेतीले आँसु थाम्न सकिनन्। गत असाेज १४ मा आफूलाई एसपीले अभद्र व्यवहार देखाएपछि उनी १० दिन कार्यालय नै गइनन्।

अहिले आफूमाथि भएको दुर्व्यवहार सम्झिँदा उनको गहभरि आँसु जम्ने गरेको उनी बताउँछिन्। 'त्यस दिन त्यस्तो घटना घटेपछि म १० दिन त काममा गइनँ,' उनले भनिन्।

उप्रेतीले आफ्नो कमान्डर लोकनाथ चुडाललाई आफूमाथि भएको दुर्व्यवहारबारे गुनासो गर्दा चुडालले हौसला प्रदान गर्दै प्रशासनमा निवेदन दर्ता गर्न सुझाव दिए।

चुडालको सुझावअनुसार उप्रेतीले मंसिर ११ गते प्रशासनमा राजीनामा पत्र बुझाउँदा प्रशासकीय प्रमुखले उप्रेतीमाथि भएको दुर्व्यवहारको कडा निन्दा गर्दै उपयुक्त छानबिन हुने आश्वासन दिई उनलाई प्रशासकीय शाखामा नियुक्त गराए। तर नियुक्ति भएको १ महिना बितिसक्दा पनि एसपी राजु पाण्डेमाथि महानगरले कुनै पनि कारवाही नगरेकाे उनी सुनाउँछिन्।

फिल्ड इन्चार्ज चुडालले महानगरको बेवास्ता गर्ने प्रवृत्तिको खण्डन गर्दै भने, 'नगर प्रहरी संगठनका प्रमुखले त्यो शब्द एउटा महिला प्रहरीलाई भन्न मिल्छ? बिहान १० देखि बेलुका ५ बजेसम्मको ड्युटी माग्दा एउटा ८ महिने बच्चाको आमालाई ड्युटी दिन सक्नु पर्थ्याे। मंसिर ११ मा उनले कार्यकारी प्रमुखसँग निवेदन दर्ता गर्दा पनि आजसम्म न्याय पाएकी छैनन्।'

एसपी पाण्डेको सत्ता ज्यादतीमा परी पीडित हुने गंगा मात्र नभएको चुडाल बताउँछन्। 'गंगाको केस एउटा सुरूवात मात्र हो। यहाँभित्र थुप्रो करप्सन पनि छ,' उनले भने।

त्यसैगरी महानगरभित्र भ्रष्टाचार पनि भइरहेकाे उनी बताउँछन्। 'वसन्तपुरको आकाश भैरवबाट दोस्राे घरमा काम गर्न जाँदा घर मालिकले २ लाख ५० हजार रूपैयाँ महानगरले लगे भन्दा हाम्रो बेइज्जत भयो। त्यो पैसा कसले लग्यो थाहा छैन। हाम्रो जुनियर भाइहरूले घर मालिकको चिनेको मान्छेमार्फत त्यो रकम लगेकाे रहेछन्। तर कुन चाहिँ भाइले पैसा लगेकाे हाे, अहिलेसम्म खुलासा भएको छैन र त्यो विषयमा अनुसन्धान पनि भएको छैन,' उनले भने।

०००

प्रहरी बलको ज्यादतीको सिकार आफू पनि भएको चुडाल बताउँछन्। प्रशासनले दिन-रात ड्युटीमा खटाउने र पर्याप्त विश्राम नदिने गरेकाे उनको गुनासो छ।

उनले भने, 'मान्छे डोजर होइन, ओभर लोडका कारण धेरै मान्छे बिरामी परेका छन्। फिल्डमा घाइते हुँदा पनि 'यस्तै हो' भनेर टार्छन्। व्यापारीले इन्दिरा कार्की (महिला प्रहरी)को मुखमा औंला छिराएर दुईटा दाँत भाँच दिँदा पनि कसैले वास्ता गरेनन्। एक साता ज्वरो आएर काममा हाजिर नहुँदा समेत कसैले 'नानी के भयो भनेर सोधेनन्।'

गरिबलाई मारेर सहर रंग्याउँदै 'बालेन्द्र साप'

उनले महानगरभित्र अनियमितताहरू पनि रहेको बताए। 'नगर प्रहरीमा रहेका पाँच जना एसपी छन् र तिनीहरू कोही पनि एकअर्कासँग बाेलचाल छैन। सबै आफूलाई जे मन लाग्यो त्यही गर्छन्। यिनीहरूको आफ्नो व्यक्तिगत 'हिरोइजम' ले संगठन डुब्दैछ। हामीलाई चिन्ता त्यो हो, संगठन यसरी डुबाउन मिल्दैन,' उनले भने।

विगत २९ वर्षदेखि महानगर प्रहरीमा कार्यरत इन्चार्ज चुडालले सोमबार बिहान राजीनामा दिएका छन्। प्रशासन र प्रहरी बलको नेतृत्वदेखि निकै आजित भएर उनले राजीनामा पत्र प्रशासनमा बुझाएका हुन्।

प्रहरी र प्रशासनको सत्ता ज्यादतीबाट पीडित भएका अन्य प्रहरीहरूलाई अन्यायविरूद्ध अवाज उठाउन उनले आह्वानसमेत गरेका छन्।

प्रकाशित मिति: : 2022-12-19 21:20:00

प्रतिकृया दिनुहोस्