पोखरामा बुधबार दोश्रो मेयर कप साइकल दौड हुने भएको छ। टूर दि पोखराको पुर्वसन्ध्यामा पोखरा महानगरपालिका खेलकुद विकास समितिले मेयर कप साइकल दौड गर्न लागेको हो।
पोखराको ५० किलोमिटर दुरीमा हुने साइकल दौड प्रतियोगितामा विभिन्न जिल्लाका ६० भन्दा बढी खेलाडी सहभागी हुने समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए।
प्रतियोगितामा ४० वर्षमुनिको महिला–पुरुष र ४० वर्षमाथि गरी तीन विधामा दौड हुने छ। पोखरा २१ बाट सुरु हुने प्रतियोगिता मट्टिखान, धुवाँरकोट, बाघखोर, भालुडाँडा हुँदै कमेरेमा पुगेर समापन हुनेछ।
प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ पहिलो हुनेलाई ३० हजार, दोस्राे हुनेलाई २० हजार र तेस्राेलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ।
४० वर्षमाथिको विधामा पहिलोलाई १० हजार, दोस्राेलाई ७ हजार र तेस्राेलाई ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ। साइकल सिटी पोखराको आयोजनामा आगामी पुस ९ गते शनिबार ‘टुर दि पोखरा’ हुँदैछ।