बाजुराकाे बुढीनन्दामा कर्णाली प्रतिष्ठानकाे विशेषज्ञ प्रसुती सेवा

शनिबार बिहान बुढीनन्दा नगरपालिका- ६ कोटिला बस्ने अस्मिता विक अस्पताल पुगिन। उनकाे पेटभित्रकाे बच्चा ठुलाे र धड्कन राम्राे नलागेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी स्त्रीरोग विशेषज्ञ डा.सोनाम गुरुङले तत्काल अप्रेसन गर्नुपर्ने निर्णय सुनाइन्।

‘अस्मिताकाे अप्रेसन सफल भयाे। बच्चा साडे तीन केजीकाे जन्मियाे। अहिले आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको छ,’ डाक्टर साेनामले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भनिन्, ‘यहाँ पहिलाे पटक यसरी आकस्मिक प्रसुती सेवा सुरु गरिएकाे थियाे। सफल भयाे। आमा र बच्चा दुबैलाई बचाउन सफल भयाैं।’

प्राथमिक स्वास्थ्य उपचार केन्द्रमै अस्मिताकाे उपचार गराउन पाउँदा खुसी भएका श्रीमान् अशोकले भने, ‘यहाँ सेवा संचालन नभएको भए जिल्ला बाहिर लिनुपर्ने थियो। यतै सेवा पाउँदा जिल्ला बाहिर लिनुपर्ने बाध्यता टरेको छ।’

अस्मिताकाे ज्यान बचाउने र अशाेकलाई असिम खुसी दिन केही दिनअघि मात्रै प्रतिष्ठानकाे टाेली जुम्लाबाट बाजुरा पुगेकाे थियाे। टाेलीमा डा. सोनाम, मेडिकल अधिकृत डा. चेतबहादुर धामी, एनेस्थेसियाका लालबाबु यादव, नर्स भगवती रावललगायत स्वास्थ्यकर्मी थिए।

प्राथमिक स्वास्थ्य केन्द्र काेल्टीमा खटिएर सेवा दिन सुरुवात गरेकाे पहिलाे दिनमै विपन्न नागरिकले आकस्मिक प्रसुति सेवा प्राप्त गर्ने ढाेका खुलेकाे बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहोराले बताए। ‘स्वास्थ केन्द्रमा तीन दिनअघि मात्रै डा. सोनाम र ओटी नर्स भगवती रावलको पाेस्टिङ भएकाे थियाे,’ उनले भने, ‘चार वर्ष अघिदेखि बन्द रहेकाे आकस्मिक प्रसुति सेवा बल्ल संचालनमा ल्याउन सकिएकाे छ।’

उनले राज्यले ७७औँ जिल्लाकाे पहिचान बनाइदिएकाे बाजुराकाे याे नमिठाे पहिचान बदल्नुपर्छ भन्ने मान्यताका साथ  बुढीनन्दा नगरपालिकाकाे नेतृत्वमा आएकाे बताए।

पदबहालीकै दिनबाटै शिक्षा र स्वास्थ्यलाई पहिलाे प्राथमिकता राखेर काम गरियाे, सुत्केरी हुन नसकेर मर्नुपर्ने, बाटाेमै बच्चा जन्माउनुपर्ने, उपचार हुन नसकेर महंगो जहाज चडेर नेपालगञ्ज, धनगढीमा उपचार गर्नुपर्ने बाध्यता हटाउनुपर्छ भनि लागेकाे उनले उनले सुनाए।

उनले भने,‘सराेकारवाला हरेक निकायमा चाहार्ने काम गर्दा गर्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्यहाँका उपकुलपति डा.मंगल रावलकाे विशेष पहल र सहयाेगमा स्त्रीरोग विशेषज्ञ डा. साेनाम यहाँ आइदिनुभयाे। याे हाम्रो लागि सबैभन्दा खुसीको कुरा हाे।’

परिवार स्वास्थ्य महाशाखाबाट सेवा संचालनका लागि चार वर्षदेखि बजेट विनियोजन हुने र सेवा संचालनमा ल्याउन नसकेपछि प्रत्येक वर्ष आएको बजेट फ्रिज हुने भइरहयाे। यो आर्थिक वर्षमा भने सेवा संचालन हुन सकेकाे बुढीनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताए।

‘यो आर्थिक वर्षमा सेवा संचालनका लागि नगरपालिकाले ५० लाख र परिवार स्वास्थ्य महाशाखाबाट ७ लाख गरी ५७ लाख बजेट छुट्याइएकाे थियो,’ उनले भने, ‘लामो प्रयासपछि सेवा सुचारु भएको छ। यसले धेरैलाई सेवा दिने हाम्रो विश्वास छ।’

विगतका दिनहरुमा चिकित्सकको व्यवस्थापन भए पनि व्यवस्थापनका अरु थुप्रै काम हुन नसक्दा सेवा सुचारु नभएकाे नगरपालिकाले बताएको छ।


‘सन्तानको योजना बनाएदेखि नै स्याहारसुसार गर्दा मातृ मृत्युदर घट्छ’


उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा २०७८ साल जेठदेखि मंसिरसम्म डा. अशोकप्रसाद खनाललाई नियुक्त गरिएकाे थियाे भने २०७९ साल असार महिनामा डा. प्रणन नेपाललाई एक महिनाका लागि नियुक्ति दिइएकाे थियाे। तर, पनि सेवा सुचारु हुन सकेन।

एक जना प्रसुति रोग विशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुति चिकित्सक, एक जना स्टाफ नर्स, एक जना एनेथिसिया र एकजना कार्यलय सहयोगीको व्यवस्थापन स्थापन गरेपछि सेवा संचालनमा आएकाे स्वास्थ्य संयाेजक शाहीले बताए।

बाजुराका पूर्वी–उत्तरी क्षेत्रका ४ वटा, मुगुका २ वटा र हुम्लाका २ वटा स्थानीय तहलाई लक्षित गरी सरकारले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापना गर्ने लक्ष्य राखेकाे नगर प्रमुख बाेहाेराले बताए।

तर, चार वर्षदेखि स्वास्थ्य केन्द्रले सेवा नदिँदा उक्त क्षेत्रका जटिल खाले सुत्केरीले लागि निकै सास्ती खेपेकाे स्थानीय गोरख सार्कीले बताए। उनले भने, ‘अब यो समस्या टर्ने भएको छ। सेवा नियमित भइदिए हामी आफूलाई भाग्यमानी सम्झिने छाैं।’

कर्णालीमै रमाएका चार विशेषज्ञ डाक्टर : जो छोटो समयका लागि आए, जुम्लामै अड्किए

प्रकाशित मिति: : 2022-12-18 10:02:00

प्रतिकृया दिनुहोस्