नेपालमा सन् २०११ भन्दा अगाडि एक लाख गर्भवती महिलामध्ये पाँच सय ३९ जनाको ज्यान जाने गरेको थियो। त्यो संख्या घटाएर दुई सय ८१ पुगाउँदा नेपालले उल्लेख्य उपलब्धि हासिल गर्यो। सन् २०१६ मा त्यसलाई घटाएर १३१ मा पुगाउने लक्ष्य थियो। विविध कारणले त्यो लक्ष्य पूरा हुन सकेन। अहिले पनि वर्षमा एक लाख गर्भवती महिलामा दुई सय ३९ जनाको छ ज्यान जाने गरेको छ।
सन् २०३० सम्ममा नेपालले त्यो संख्यालाई घटाएर ७० पुगाउने लक्ष्य लिएको छ। लक्ष्य हासिल गर्न कठिन हुने देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्राध्यापक, अस्पताल निर्देशक एवम् स्त्रीरोग विशेषज्ञ डा. राजिव शाह बताउँछन्।
’सुत्केरी हुने समय पुगिसकेकी गर्भवती आमाले मलाई केही भएको छैन, म अस्पताल जानू पर्दैन भन्ने धारणा बनाउनु, स्वास्थ्य संस्थामा पुग्नलाई बाटो घाटो देखि लिएर जनशक्ति समयमै उपलब्ध नहनु र अस्पतालले उपचार दिन ढिलो गर्नु लगायत कारणले गर्भवती आमाको ज्यान जान सक्छ,’ उनले भने।
गर्भवती आमालाई बचाउन नसक्नुका कारण यतिमात्र छैनन्। कम उमेरमा गर्भवती हुनु, सानै उमेरमा चार, पाँच पटक गर्भवती हुनु, स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराउनेदेखि लिएर सुत्केरी गराउने लगायतका सवालमा ध्यान दिन नसक्दा गर्भवती आमाको ज्यान जान सक्छ।
सँगसँगै प्रथा र परम्पराले पनि गर्भवती आमाको ज्यान जाने खतरालाई बढवा दिएको डा. शाहको भनाई छ। ’एक पटक हामीकहाँ आउनु भएकी एक जना महिलाको शरीरभरि पोलेको जस्ता दागहरु थिए। अनावश्यक रुपमा त्यस्तो देखेर सोधपुछ गर्दा धामीले पोलेको थाहा भयो,’ उनले भने, ’हामीले तत्काल सल्यक्रिया गरेका थियौं। एक महिना अस्पताल राखेर उपचार पछि निको भयो।’
उनका अनुसार गर्भवती महिलाको शरीर काप्नु एउटा रोग हो। त्यसलाई ’क्ल्याम्सिया’ भनिन्छ। शरीर काँप्ने हुनाले धेरैले त्यसलाई देउता लाग्यो सोच्छन् र धामीझाँक्रीकोमा जान्छन्। त्यसले समस्या अरु बढाउँछ र दिमागमा समेत असर गर्छ। शरीर काप्ने बित्तिकै अस्पताल जानुको विकल्प हुन्न।
गर्भावस्थामा यस्ता समस्याहरु सबैलाई देखिदैनन्। तर, जुम्लामा धेरैजसोमा यस्तो समस्या देखिरहेको छ। देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।
’यस्ता समस्या भएका महिलाहरुको समयमै उपचार भएको खण्डमा बचाउन सकिन्छ,’ उनले भने, ’हामीले धामीझाँक्रीको विश्वास नगरी तत्काल अस्पताल पुग्ने विषयमा सोच्नुपर्छ। समयमै स्वास्थ्य संस्थामा पुग्न सकेकै कारण पछिल्लो तीन वर्षमा जुम्लामा मातृमृत्युदर शून्य छ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो अस्पतालको पुरानो प्रविधि र संरचनाबाट विकास भएर अहिलेको अवस्थामा आइपुग्दा संरचनादेखि प्रविधिसम्म विकास भएको छ।
आमा र शिशुलाई स्वस्थ राख्न पछिल्लो समय बच्चाको योजना गरेदेखि नै पूर्वतयारी गर्नुपर्ने चिकित्सकहरुको सुझाव हुन्छ। बच्चाको योजना गरेका महिलालाई गर्भ रहनुभन्दा पहिला फोलिक एसिड दिने गरिन्छ।
प्रतिष्ठानको प्रसुति वार्डमा २४ घण्टा दुई किसिमको भिडियो एक्सरेको सुविधा छ। रेडियोलोजिष्ट नभएको बेला समेत इमर्जेन्सीमा बिरामीलाई कुदाउनु नपरोस भनि सुविधाहरु थपिएको छ।
पछिल्लो समय अस्पतालमा सेवा लिन आउने सुत्केरी महिलाहरु जिल्लाभरीका छन्। तर, चन्दननाथ नगरपालिकाका ५० प्रतिशत गर्भवती महिला अहिले पनि घरमै सुत्केरी हुने गरेको तथ्यांक छ। यसको मुख्य कारण अस्पताल गयो भने अप्रेसन गरिदिन्छन् भन्ने धारणा रहेकाले यसलाई चिर्नुपर्ने उनले बताए।
’महिलामा भर परिरहेको कर्णालीका अप्रेसन गरेको खण्डमा काम गर्न सक्दैनन् भन्ने सोचको विकास भएको छ। अप्रेसन गरेको महिलाको रिकभरिको पिरियड लामो हुन्छ। त्यो अवधिमा स्वास्थ्यको राम्रो हेरचाह गर्नुपर्छ,’ उनले भने, ’कम्तीमा तीन महिना राम्रो कियर गर्न सकियो भने सिजरियन सेक्सन गरेको महिलाले पनि अरु महिलाजस्तै काम गर्न काम गर्न सक्छन्।’
अस्पताल गएपछि डाक्टरले अप्रेसन गरिदिन्छन् भन्ने हल्ला चिर्न तथ्यांक काफी रहेको उनको मत छ। उनका अनुसार विश्व स्वास्थ्य संगठनले गर्भवती महिलाको अप्रेसन हुने दर १० देखि १५ प्रतिशत हुनुपर्ने मानेको छ। यदि १० प्रतिशत भन्दा कम भएको अवस्थामा स्वास्थ्य सेवा राम्रो नभएको बुझिन्छ भने १५ प्रतिशत नाघेको खण्डमा बढी अप्रेसन गरिएको बुझिन्छ। प्रतिष्ठानमा गर्भवती महिलाको सिजरिन सेक्सन हुने दर १२ प्रतिशत छ। जुन निकै राम्रो तथ्यांक हो।
सिजरिन सेक्सन गर्भवती आउने वित्तिकै गरिदैन। सबै कुरा हेरेर निर्णयमा पुग्नुपर्ने हुन्छ। ’गर्भ रहेको ३६ देखि ३८ हप्तामा बच्चाको अवस्था हेरिसकेपछि पानीको मात्रा धेरै भयो, बच्चा उल्टो देखियो, चार किलो भन्दा धेरै तौल भयो, साल तल भयो, बच्चाको धड्कन राम्रो भएन भने दुईवटा जीवन बचाउने दायित्व चिकित्सकको काँधमा हुन्छ,’ डा. राजिवले भने,’केही समस्या छैन भने ४१ हप्तासम्म कुरिन्छ। तर, कुनै समस्या भएको खण्डमा भर्ना गरेर हेर्नुपर्छ। समस्या धेरै भएको खण्डमा सिजरियन सेक्सनको विकल्प हुन्न।’
यदि गर्भवती महिलाले चार वटा भन्दा धेरै सन्तान जन्माइसकेकी छिन्, पहिला गर्भवती हुँदा अत्यधिक रक्त स्राव भएको छ, व्यथा लाउने ओैषधि बढी चढाएको छ भने पनि डाक्टर सिजरिन सेक्सन गर्ने निर्णयमा पुग्ने गरेको उनको भनाई छ। त्यसैले सरकारले स्वास्थ्य संस्थामै जन्माउनुपर्छ भनी नियम बनाएको हो।
आमा र शिशुलाई स्वस्थ राख्न पछिल्लो समय बच्चाको योजना गरेदेखि नै पूर्वतयारी गर्नुपर्ने चिकित्सकहरुको सुझाव हुन्छ। बच्चाको योजना गरेका महिलालाई गर्भ रहनुभन्दा पहिला फोलिक एसिड दिने गरिन्छ। जसले बच्चामा जन्मजात हुने नशासम्बधी अपांगता हुन दिँदैन। सँगसँगै आर्थिक जोहो पनि गर्नुपर्ने हुन्छ।
बच्चा बसेपछि पहिलो तीन महिना, दोस्रो तीन महिना र तेस्रो तीन महिना गरी हेरचाह गर्नुपर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले कम्तिमा आठ पटक स्वास्थ्य संस्थामा देखाउनुपर्ने हुन्छ। तर नेपालमा कम्तीमा चार पटक देखाउनुपर्ने सरकारी नियम छ।
पहिलो पटक पिसाब जाँच गरेर कन्फर्म गरिन्छ। १२ हप्तामा डेट हेर्नलाई भिडियो एक्सरे गरेर आइरन क्याल्सियम सुरु गरिन्छ र टिटनसको सुई पनि लगाइन्छ।
२० देखि २२ हप्तामा बच्चमा जन्मजात खोट छ कि छैन भनेर हेरिन्छ। २८ हप्तामा ग्लुकोजको टेष्ट पनि गरिन्छ। प्रत्येक भिजिटमा तौल नाप्ने, प्रेसर नाप्ने, पिसाबमा प्रोटिनको मात्रा हेर्ने, हेमोग्लोबिनको मात्रा चेक गर्ने लगायतका काम हुन्छ भने ३६ देखि ३८ हप्तामा बच्चाको परिपक्व अवधि सुरु हुन्छ। यसरी ४१ हप्तासम्म पनि शिशुको जन्म हुन सक्ने डा. राजिवले बताए।
’गर्भ रहेदेखि बच्चा जन्मिउन्जेल विशेष हेरचाह गर्नुपर्छ भने त्यसपछिका दिनमा आमाको खानपान र बच्चाको स्तनपानलाई विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ’आमालाई यस्तो बेला एक्स्ट्रा क्यालोरीको जरुरी हुन्छ। त्यसका लागि अण्डा, माछा, मासु, फलफूल बढी दिनुपर्छ।’
जुम्लामा सुत्केरी महिलाले माछा खानु हुँदैन भन्ने मान्यता छ। उनी भन्छन्, ’ठूलठूला कारखाना भएको ठाउँका समुद्री माछामा मर्करी लेभल उच्च हुन्छ। त्यस्तो माछा खान मिल्दैन। हाम्रोतिरको माछामा त्यस्तो केही हुन्न, त्यसैले खानु राम्रो हो।’
उनका अनुसार शिशुलाई स्तनपान गराउने तरिका पनि मुख्य हो। पहिलो तीन दिनसम्म शिशुले जति दूध खान सक्छ त्यही नै उसको खाना हो। बच्चाको पेट नै अंगुरको दानाजत्रो हुन्छ। त्यसपछि दूध कसरी खुवाउने भन्ने विषयमा ध्यान दिन जरुरी छ।
एक पटकमा कम्तीमा आठ देखि १० मिनेसम्म एउटै दूध चुसाउनुपर्छ। पहिला आउने दुधमा कार्बाेहाइड्रेड हुन्छ, बीचकोमा प्रोटिन हुन्छ भने अन्तिममा फ्याटको मात्रा धेरै हुन्छ। अर्काे पटक अर्काे दूध त्यसरी नै चुसाउनुपर्छ। यस्तो गरेको खण्डमा बच्चाले कम्प्लिट प्याकेज पाउँछ। एकै पटक आधा आधा गरेर दुइवटै दूध चुसाउँदा केही तत्व डबल हुन्छ भने केही तत्व छुट्छ। यसले शिशुको वृद्धि विकास राम्रो हुन्न।
’छ महिना आमाको दूध बाहेक अरु केही खुवाउनु पर्दैन। त्यसपछि पछि पास्नी गर्नुको कारण पनि त्यही हो,’ उनले भने, ’बाहिरको दूध खुवाउँदा पछिसम्म एलर्जी हुने सम्भावना रहन्छ।’
शिशु जन्मेको पहिलो २८ दिनमा जमेखिम उच्च हुन्छ, एक वर्षसम्म त्यसको तुलनामा जोखिम अलि कम हुन्छ भने जोखिम पाँच वर्षमा पनि रहन्छ। त्यसैले कम्तीमा हजारदिनसम्म आमा र शिशुको राम्रो रेखदेख हुन सकेको खण्डमा अर्काे बच्चाको योजना गर्दा समेत सहज हुने उनको भनाई छ।