डाक्टरका लागि सुत्केरी हुने महिलाकाे उपचार एकदमै संवेदनशील हाे। यस्ताे बेला दुईवटा ज्यानकाे सवाल हुन्छ, आमा र बच्चा दुबैको जीवनलाई ख्याल गर्नुपर्ने। त्यसैले जाेखिम पनि बढी नै हुन्छ। फरक विषयकाे विशेषज्ञले 'सिजेरियन सेक्सन' गर्दा कतै आफू असफल हुने त हाेइन भन्नेसम्म साेच्छन्। तर, अरु उपाय पनि हुँदैन। त्यसैले आफैँले अप्रेसन गरेर गर्भवती महिलाको ज्यान जाेगाउन अप्रेसन थियटर छिर्नुपर्छ। यही गरिरहेका छन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरू। जुन कुराले प्रतिष्ठान जनविश्वास हासिल गर्न सफल भएकाे छ।
अस्पतालमा बत्ती र 'एनेस्थेसिया' नभएकाे बेला अप्रेसन गर्ने डाक्टरलाई निकै तनाव हुने प्रतिष्ठानका उपकुलपति मंगल रावलले बताए। 'यहाँ धेरै कुराकाे अभाव छन्, त्यसमाथि टर्च लाइट बालेर कुनै डाक्टरले अप्रेसन गर्नुपर्छ भने उसकाे स्थिति कस्ताे हाेला,' उनले भने।
विकटमा बस्ने डाक्टरहरुकाे कमाइ राम्राे हुँदैन। तलब र अस्पतालले दिने सुविधा बाहेक अरु कमाईकाे स्राेत हुँदैन। याे सबै हेर्दा सुगममा बस्ने डाक्टर सबै हिसाबले अगाडि हुन्छ। तर, देश बुझ्ने मामलामा विकटकाे डाक्टर अगाडि हुने डा.प्रविण गिरीले बताए। 'हुम्लामा गएर 'एपेन्डिक्स'को अप्रेसन गर्दा र बिरामी निको भएको देख्दा आउने आनन्द सबै सेवा सुविधाभन्दा बढी हन्छ,' उनले भने, 'हामीलाई भावनाले अड्याएकाे छ। त्यसैले हामीले पाउने सेवा सुविधा त्यागेर भएपनि यता बस्ने साेच बनाएका हाैं।'
अहिले डा. पुजन बाहेक सबैलाई पारिवारिक दवाब छ। 'छोराले बाबा कहिले आउने भनेर फोन गर्दा मन कस्तो हुन्छ होला?' डा. लिम्बूले भने, 'तर पनि केही छैन। यो हामीले फूलाएको फूलबारी हो। यसलाई संरक्षणमा गर्ने जिम्मा पनि हाम्रै हो भनेर बसेका छौं। यसका हरेक उतारचढावसँग हामी सँगै हुन्छौं।'
विकटमा बस्ने जनशक्तिकाे याेग्यतामाथि धेरैले प्रश्न पनि गर्छन्। अन्त काम नपाएर यता बसेकाे भन्ने हल्का टिप्पणी पनि गर्छन्। जुम्लाका बुढापाकाहरुले 'एसएलसी पास गरेकाले हलाे जाेत्न छाेड्छन्, आइए पास गरेकाहरु गाउँ छाेड्छन् र बीए पास गरे देश छाेड्छन्' भनेर व्यंग्य गरेजस्तो। तर, यसमा उनीहरुकाे सामुहिक स्वर छ, 'हाम्रो विषयमा कसैले अफवाह फैलाए पनि गुनासो छैन। हामी कुनै दिन यो संस्था छोडेर अन्त गए पनि यहाँ हाम्रा पदचापहरु रहिरहुन् भन्ने हिसाबले काम गरेका छाैं। याे संस्थामा आइहाल्याैं। आएपछि भावनाले हामीलाई टिकाएकाे छ।'
जुम्ला केन्द्र बनाएर कर्णालीबासीकाे सेवा गर्ने डाक्टरहरुसँग सिमित स्रोत साधनमा काम गरेको ठूलो अनुभव छ। 'टेक्नीकल जग बसाल्ने जस हामीले पाइरहनेछौं, यसमा कुनै दुबिधा छैन। कसैले जस दिँदैन भने पनि हामीलाई कुनै गुनासो हुने छैन। हामी आफ्नो कामदेखि सन्तुष्ट हुने ठाउँहरु तमाम छन्,' डा. पुजनले भने।
प्रतिष्ठानमा आगलागी भयाे। त्यसले अस्पताललाई रसातलमा पुर्यायाे। त्याे अवस्थाबाट प्रतिष्ठान डाक्टरी पढाइ गर्ने याे अवस्थामा पुग्याे। डा. पुजनले भने, 'त्यसमा हाम्रो पनि रगत पसिना बगेको छ।'
धेरैले प्रतिष्ठानकाे आराेह मात्रै देखिरहेका छन्। तर, अवरोह नदेखिएका डा.निरेशले बताए। 'एउटा विकल्प पोखरेलको निधन हो। त्यसले डाक्टरका मनस्थितिमा नकारात्मक धारणा निर्माण गर्न ठूलो भूमिका खेल्यो,' उनले भने,'अर्काे प्रतिष्ठानको भवन आगलागी हो। बाहिरकाे कुरा सुन्दा भित्रैकाे मिलेमतोमा लगाएको भन्ने छ। काठमाडौंका मान्छे त सुरुदेखि नै नेगेटिभ थिए। राज्यको लगानी बालुवामा पानी हालेको भन्थे। जसले अरुको मुख थुन्न गाह्रो थियो।'
उनले त्यस्तो गाह्रो बेला काम गर्दै याे अवस्थामा आइपुग्दा प्रतिष्ठान घर जस्ताे भइसकेको बताए। 'यी १० वर्षमा प्रतिष्ठान जति राम्रो भयो। त्यसका लागि कर्णालीबासीको ठूलो योगदान छ,' उनले भने, 'याे संस्था राम्रो भएपछि यहाँ काम गर्न आउन चाहनेहरुकाे संख्या पनि बढेकाे छ।'
डा.लिम्बु आउँदा सुरुमा बस्ने राम्रो व्यवस्था थिएन। डा. निरेश थापा बसेको कोठा शेयर गरेर बसेका थिए। 'यसरी नै दिनको सुरुवात भएको थियो। हामी सधैं 'मर्निङ सो द डे' भन्छौं,' डा. लिम्बूले भने, 'तर हाम्रो मर्निङ त साह्रै बादल लागे जस्तो थियो। पछि विस्तारै बादल फाटेर घाम लागेजस्ताे भयाे।'
डा. प्रविण चार जनाकाे टाेलीमा अन्तिममा सामेल भएका हुन्।
डा.गिरीका अनुसार संस्थाले दिन नसकेको अवस्थामा माग्दै हिंड्ने कुरा हुँदैन। कसैलाई भन्न जाने कुरा पनि भएन। उनले भने, 'काम बढी गर्नुपर्छ भन्ने लाग्छ। आज कर्णाली प्रतिष्ठानमा एमबीबीएस आएको छ। त्याे प्रतिष्ठानकाे सपना हो। यो सपना पूरा हुँदै गर्दा हामीहरु सबैभन्दा बढी खुसी छाैं।'
डा.निरेश पीएचडी गर्न जाँदा उनलाई निमित्त छोडेर गएका थिए। त्यसबेला झण्डै ११ महिना प्रतिष्ठान पदाधिकारीविहीन हुन पुग्यो। त्यो बेला उनी एक्लैले धानेका थिए।
'त्यसबेलाको प्रेसर सम्झन लायक छ। आइपर्याे भने सबै काम गर्न सकिँदो रहेछ,' उनले भने, 'एकपटक तलव खुवाउन नसक्ने अवस्था हुँदा मन्त्रालयमा पुगेर सचिवसँग झगडा गर्ने काम समेत भयो।'
डा.पुजनलाई पनि घरबाट त यता नबसिदिए हुन्थ्याे भन्ने नै थियाे। उनकाे जिद्दीपछि घरबाट पनि सपोर्ट भयो। तर, जुम्ला आउँदा हाडजोर्नीको सामान केही थिएन। सामान जति सकिन्छ चाँडो मगाउन दबाब दिए। प्रतिष्ठानमा हाजिर भएको एक वर्षमा आधारभूत सामग्री पनि पुग्याे। 'पछि बिरामीको सेवा गर्दै जाँदा प्रतिष्ठानप्रतिको सदासयता पनि बढ्दै गयो,' उनले भने, 'घरमा आमाले पकाएको खाना खाएर बिरामीको उपचार गरेपछि सफल हुँदा देखिने आत्मीयता सायदै अन्त पाउन नसकिएला। त्यसकारण हामी सुरुका चारजना डाक्टरमध्ये म भाग्यमानी नै हुँ।'
बाहिरका डाक्टरहरुलाई जुम्लाको हावापानीले ठूलो प्रभाव पारेको छ। मंसिर १५ देखि यता नबसौं लाग्ने गरेकाे डा.निरेशले बताए।
प्रविण दार्चुलाका हुन्। उनी आधारभूत लेभलबाट माथि आए। उनी सुरुमा पारामेडिकल पढेका थिए। चार वर्ष सरकारी जागिर समेत खाएका हुन्। तर, पढ्ने इच्छा धेरै भएका कारण उनी सरुवा गरेर भक्तपुर बसेर फेरि पढ्न थाले। 'म आफैँ दुर्गमकाे मान्छे हुँ। तीन वर्ष दुर्गममा बसेर सेवा दिएकाे हुनाले दुर्गमका पीडा थाहा छन्,' उनले भने, 'त्यसैले पनि मलाई दुर्गममा आउनलाई अफ्ठ्यारो परेन। हेल्थ पोष्टको अनुभवबाट यहाँसम्म पुगेको म एक जना हुँ, मेरो साथीहरुमा।'
चार जनाका रमाइला पक्ष भनेको लिम्बु सुदूरपूर्व ताप्लेजुङका हुन्। उनी मेडिकल अफिसर हुने बेला जहाँ डाक्टर पुग्दैनन् त्यहीँ पुगेर काम गरेका हुनाले पनि उनलाई दुर्गमका नागरिकलाई आवश्यक स्वास्थ्य उपचारबारे थाहा छ। त्यसैले पनि उनलाई कर्णालीले तान्न सफल भयो।
सुदूरपश्चिमका डा.गिरी, मध्य नेपाल रुपन्देही सैनामैनाका डा.निरेश र डा. पुजन मध्यपश्चिका। त्यसबेला डा.जावेद अहमद खान बागमतीबाट प्रतिनिधित्व गर्थे। सबै जना एकैं ठाउँमा आउनु सिंगाे नेपाल एकै ठाउँमा आउनुजस्ताे थियाे। त्यही संयोगले नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उचाइमा एउटा इँटा थपिने काम भयो।
चारै जनाको साझा कुरा भनेकाे भावना मिल्नु थियाे। कसरी हुन्छ धेरैभन्दा धेरै नागरिकको सेवा गरौं भन्ने थियाे। त्यसैले त्यसबेलाका जटिल केसहरुमा सहकार्य बढी नै हुन्थ्याे। काम सकेर बाहिर निस्कँदा अर्कै खालको आनन्द आउने गरेकाे उनीहरुले बताए।
डा. पुजनले त्यसैमा भन्छन्,'कहिलेकाहीँ त आफैँलाई ती नमिठा सपना हुन् जस्तो पनि लाग्छ। सुत्केरी गराइरहेको बेला बत्ती गयो भने त्यो भन्दा आपतको अर्को कुरा हुँदैनथ्यो। त्यस्तो बेला हामीले गरेको अप्रेसन बिग्रँदा कति तनाव हुन्थ्यो होला? हामी के नै गर्न सक्थ्यौं होला र?'
'यी हाम्रा भोगाइहरु कुनै दिन लिपिबद्द होलान् नहोलान् तर मनमा भने जरा गाडेर बसेको छन्,' डा. लिम्बूले भने।
हामीले अघिल्ला शृङ्खलामा पनि भनिसकेका छाैं क्रिटिकल कियरमा प्रविण चितवनदेखि यता एक जना मात्रै हुन्। एक दिन उनी क्रिटिकल कियर सोसाइटीको एउटा सेमिनारमा गएका थिए। त्यहाँ गएको बेला उनले म जुम्लामा आईसीयू चलाएर बसिरहेको छु भन्दा सबैले उठेर ताली बजाए। 'त्यो भन्दा ठूलो सम्पत्ति नै जीवनमा के कमाइला र?,' उनले भावुक हुँदै भने।
कर्णालीमा बस्ने डाक्टरका सेवा सुविधा धेरैले राम्रो होलान् भन्ने ठानेर 'निकै कमाएको छस् होला' भनेर भनिरहेका हुन्छन्। तर, जब सुन्छन् तब त्यतिका लागि किन तेत्रो दुर्गममा बसेको छस् भनेर प्रश्न पनि गर्छन्। डा. गिरीले थपे, 'तर दुर्गममा काम गर्नुका कयौं दुःख हुँदा पनि बिरामी र बिरामीको अनुहारमा देखिने खुसी जतिको आनन्द अर्को के नै थियो र?'
हिजो सानो एपेन्डिक्सका लागि धेरैले खेतबारी बेचेको आफ्नै आँखाले देखेकाे डा. निरेशले बताए। उनले भने, 'भौतिक रुपमा धेरै सुधार भएको छ। बिरामीले पाउने सेवा सुविधा पनि बढेका छन्। तर, डाक्टरले पाउने सेवा सुविधाका उल्लेख्य सुधार भएकाे छैन। हामी त्यसैका लागि पनि प्रयत्न गरिरहेका छाैं।'