कर्णालीको स्वास्थ्य अवस्था र सिटामोल अभाव पर्यायवाची शब्द थियो। त्यस्तो ठाउँमा डाक्टर पुगेका छन् भनी सुन्न पाउनु कर्णालीवासीका लागि सुखद् कुरा थियो। यस्ता सुखद समाचार सुनाउनेलाई कर्णालीबासी 'तिम्रो मुखमा दूध भात पसोस्' भनी आशिष दिन्थे।
कर्णाली सुन्नेबित्तिकै दुर्गम र विकट मानिने ठाउँमा डाक्टर आउनुपर्यो भने कम्तिमा १० पटक सोच्थे। यस्तो हुँदा पनि डाक्टर विकल्प पोखरेल जुम्ला आएका थिए, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ चिकित्सक भएर।
उनको सेवा तारिफ योग्य थियो तर २०७० साल फागुनमा अर्घाखाँचीको मसिने लेखमा भएको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा उनको मृत्यु भयो। जुन जुम्ली र समग्र कर्णालीबासीहरुको लागि दु:खद् क्षण बन्यो।
मृत्यु शाश्वत सत्य भए पनि उनको मृत्यु कर्णालीको लागि भविष्यमा समेत असर पर्ने खालको भइदियो। त्यही बेला भर्खर स्थापना भई फक्रिन लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विशेषज्ञ डाक्टरको खोजी गरिरहेको थियो।
डा. विकल्प पोखरेलको मृत्युले कर्णाली जानु भनेको मृत्यु रोज्नु हो भन्ने खालको संकथन निर्माण गरिदियो। त्यसपछि कर्णाली तीन चार महिना जति डाक्टर बिहीन भयो।
उसो त 'मेडिकल अफिसर' सात–आठ जना क्रियाशील थिए तर जटिल खालको उपचार उनीहरुबाट संभव हुँदैनथ्यो।
डा. पोखरेलभन्दा अगाडि आएका थिए डा. जावेद अहमत खान। उनी पदाधिकारी भएकाले निश्चित समय सकाएर फर्किए।
त्यसपछि एकै वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना विशेषज्ञ डाक्टर आए– डा. निरेश थापा, डा. पुजन रोकाया, डा. सूर्यमान लिम्बू र डा. प्रवीण गिरी।
प्रतिष्ठानले सुरुमा विशेषज्ञ सेवा प्रदान गर्ने बेलादेखि हाल एमबीबीएस अध्ययापनसम्मको अवस्थामा आइपुगदा पनि उनीहरु कर्णालीमै बसेर सेवा गरिरहेका छन्।
बिएल नेपाली सेवाले उनीहरु चारै जनासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ। यो लेख तीन भागमा शृङ्खलाबद्ध रुपमा प्रकाशन हुनेछ।
डा. निरेश थापा
डा. विकल्प पोखरेलको मृत्युको चार महिनापछि कर्णालीलाई पत्याउने पहिलो डाक्टर थिए– निरेश थापा। उनी दुई महिना मात्रै बस्ने शर्तमा जुम्ला आएका थिए। उनलाई त्यस बेलासम्म जुम्ला आउने कोही भेटिएला र उसलाई आफ्नो जिम्मेवारी सुम्पेर फर्किउँला भन्ने थियो।
त्यसैले उनी काम गरिरहेको रेशुङ्गा अस्पताल, तानसेनमा बिदा मिलाएर आएका थिए। रेशुङ्गाभन्दा अगाडि उनले ओखलढुंगाको मिसन अस्पतालमा काम गरेका थिए।
'रेशुङ्गा हामी आफैँले खोलेको १०० बेडको निजी अस्पताल हो। पछि म जुम्ला आएपछि त्यो अस्पताल बन्द गर्नु परेको थियो,' उनले भने, 'जुम्ला आएपछि उता जाने तालमेल मिलेन।' (उनको नमिलेको तालमेल पछि पस्तुत गरिनेछ।)
डा. पुजन रोकाया
पुजन २०७१ साउनमा जुम्ला आएका थिए। उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमडी सकाएका थिए। अर्थोपेडिक विषयका उनीलाई पढाइ सकेपछि 'जहाँ बढी बिरामी आउँछन् त्यतै जागिर खानुपर्छ' भन्ने घर परिवारको सल्लाह थियो तर उनले जुम्ला रोजे।
कारण उनी एमबीबीएस पढ्दा दुर्गम कोटाबाट पढेका थिए। उनलाई विकटको भूगोलले पढ्ने माहोल मिलायो। त्यसैले उनलाई आफ्नो भूगोलको सेवा गर्नुपर्छ भन्ने थियो।
'यही भूगोलले मलाई डाक्टर बनायो। त्यसैले यहीँका मान्छेको सेवा थोरै समय भए पनि गर्न पाइएको खण्डमा सन्तुष्ट भइन्छ जस्तो लागेको थियो,' उनले भने, 'पछि यता आएपछि यतै भएँ।'
डा. सुर्यमान लिम्बू
डा. सुर्यमान लिम्बू तानसेन मिसन अस्पतालमा काम गरिरहेका थिए। त्यहाँ सर्भिस ओरियन्टेड उपचार पद्धति छ। सिस्टममा काम हुन्थ्यो। चीनमा पनि 'सिष्टम' मा पढेका थिए। त्यस कारण उनलाई अस्पताल भन्नेबित्तिकै चुस्त व्यवस्थापन लाग्छ।
सुविधासम्पन्न अस्पतालमा काम गरेका उनी जुम्ला पुग्दा छक्क परेको अनुभूति सुनाउँछन्। 'आउनेबित्तिकै 'अप्रेसन थिएटर' मा छिरेको थिए। त्यसबेला म छक्क परेँ,' उनले भने, 'चारवटा बत्ती झुन्ड्याएको एउटा टेबल राखेको अप्रेसन थिएटर थियो। यस्तोमा कसरी काम गरौँला लाग्यो। एक मनले त फर्किजाऊँ जस्तो पनि लागेको हो। पछि बिस्तारै बानी पर्दै गयो। टीम वर्क बढी नै भयो। त्यसले सन्तुष्टि दियो।'
उनी एक वर्षका लागि भनेर जुम्ला आएका थिए। उनलाई डा. निरेशले जुम्ला आउन आग्रह गर्नुको एउटा स्वार्थ थियो। उनलाई जिम्मेवारी सुम्पेर आफू उता फर्किने तर दुबै जनाले हल बाँधेर काम गर्नुपर्ने दिन आए।
डा. प्रवीण गिरी
त्यो वर्ष सबैभन्दा पछाडि जुम्ला आउने डाक्टर हुन् गिरी। उनी सुदुरपश्चिमका हुन्। उको विषय एनेस्थेसिया र क्रिटिकल कियर हो।
चितवनदेखि पश्चिममा यो विषयका विशेषज्ञ डाक्टरमा उनी एक्ला हुन्। अप्रेसन गर्दा बिरामीको ज्यान बचाउनमा उनको विषयको महत्त्वपूर्ण भूमिका हुन्छ।
२०७१ मंसिर २३ मा जुम्ला पुगेका उनी यस अघि वीर अस्पतालमा कार्यरत थिए। जुम्ला आउने निर्णय गर्दा घर परिवार र साथीभाइको आपत्ति थियो।
वीरमा काम गरिरहेका बेला दुई तीन पल्ट अफर आउँदा पनि रिजेक्ट गरी बसिरहेका थिए। पछि डा. लिम्बूले पदाधिकारीसँग भेट गराए। त्यसपछि उनी आउन राजी भए।
त्यसबेला उनका बुबाले, 'वीरमा मान्छेले जागीर पाउँदैनन्, तँ पाएको जागीर किन छोड्छस्?' भनेका थिए। जुम्ला आउने पक्का गरिसकेपछि त्यहाँका सिनियर डाक्टरले 'तपाईं जुम्ला गएर कसलाई एनेस्थेसिया दिनु हुन्छ?' भनी प्रश्न गरेका थिए।
त्यसबेला उनी थोरै निराश भए। हाम्रो बसाइमा उनले भने, 'त्यसबेला मलाई उहाँहरु गलत हुनुहुन्छ भन्ने लागेन। उहाँहरुका अगाडि कोही त भेटिएला नि मात्रै भने। उनले भने, 'अरु जवाफ थिएन मसँग।'
अन्त्यमा साथीहरुले भने, 'जाने नै निर्णय गर्नुभयो तर प्लेनमा नजानु होला।' उनले डा. विकल्प पोखरेललाई सम्झिए। उनी पनि एक वर्षका लागि भनेरै आएका थिए।
सुरुको अस्पताल
उनीहरु चारै जना जुम्ला पुग्दा कर्णाली अञ्चल अस्पतालको संरचनामा प्रतिष्ठान खडा भएका थियो। अञ्चल अस्पतालका सामान बाहेक अरु थिएन। त्यसैले स्रोत साधनको निकै अभाव थियो। डाक्टर, कर्मचारी, सबै गरी स्टाफ जम्मा ६० जनाजति थिए। सरकारले छुट्याउने बजेट सीमित थियो।
चार जना विशेषज्ञ डाक्टर, सात आठ जना मेडिकल अफिसर हुँदा प्रतिष्ठानमा धेरै डाक्टर छन् भन्ने थियो तर नागरिकको विश्वास लिन प्रतिष्ठान सफल भइसकेको थिएन। काम गर्दै जाँदा अस्पतालले जुम्ली नागरिकको विश्वास जित्दै गयो। पछि कर्णालीबासीको विश्वास जित्दै गयो।
यसै सन्दर्भमा डा. गिरीले एउटा घटना सुनाए, 'गोर्खाका दुई जना बुढाबुढी मुगुमा पढाउने गर्नुहुँदो रहेछ। हिँउद हिउँमा चिल्पेर बुढाको हात भाँचिएछ। उपचार गराउन नेपालगञ्ज जान लाग्नुभएको रहेछ। नाग्ममा पुग्दा हात सहन नसक्ने गरी दुखेछ।
त्यहाँ कसैले जुम्लामा अस्पताल छ उतै जाउ भनेछ। यता आउँदा दुखाई कम गर्ने ओैषधि लिएर उहाँहरु जान लाग्नुभएको थियो। हामीले यो अप्रेसन यहिँ गर्न सक्छौं भन्यौँ।
२०७३ फागुनतिरको कुरा हो। सुरुमा विश्वास नमानेर अन्कनाउनु भयो। अप्रेसन गरेपछि उहाँहरु एकदमै खुशी हुनुभयो। जानेबेला 'तपाईंहरु यति दुर्गममा यस्तो राम्रो सेवा दिइरहने भएको छ, तपाईंहरुको सँधै भलो होस्' भनेर आशीर्वाद पनि दिनुभयो। हामी भावुक भयौँ।
त्यसबेला प्रतिष्ठानले नागरिकको विश्वास जिन्न निकै मुस्किल थियो। उहाँहरुले विश्वास गरिदिनुभयो। विश्वमा मात्रै गर्नुभएन। मुगुबाट टन्नै बिरामी उपचार गराउन अस्पताल पठाइदिएर ठूलो गुन लगाउनु भयो।'
निरेश, प्रवीण र सुर्यमान, डोल्पामा गएर क्याम्प नै सञ्चालन गरे। पुजनको टीम बारबार कालिकोट गइरहन्थ्यो। यसरी प्रतिष्ठानप्रति कर्णालीबासीको विश्वास बढ्दै गयो।
थोरै जनशक्ति, धेरै काम
हाल ८० जनाभन्दा बढी विशेषज्ञ चिकित्सक रहेको प्रतिष्ठानमा सुरुको दुई वर्ष चार जना विशेषज्ञ डाक्टर मात्रै थिए। सानो टीम थियो तर टिम वर्क हुन्थ्यो। जसले राम्रो परिणाम निस्कन्थ्यो।
उनीहरु चारै जनाको एक स्वर छ, 'त्यो हाम्रो लागि सुनौलो क्षण थियो। हामी शेयरिङ बढी गर्थ्यौं। एक्स–रे मेसिन पुरानो प्रविधिको थियो। अहिले डिजिटल छ। पहिला सीमित रगत जाँच हुन्थ्यो। अहिले धेरै हुन्छ तथापि पुगेको छैन।
बील काउन्टर डजिटल भएको छ। पहिला फार्मेसी थिएन। अहिले छ। पहिला अप्रेसन थिएटर एउटा मात्र थियो। सबै खालको अप्रेसन त्यहीँ हुन्थ्यो। अहिले नयाँ भवनमा तीनवटा अप्रेसन थिएटर मात्रै छन्।'
उतिबेला धेरैजसो काम गर्न सकिएको उनीहरुको बुझाइ छ। काम पनि अत्यधिक हुन्थ्यो। चारै जना विशेषज्ञको कुनै टाइमटेबल थिएन। बिहान उठ्यो, भर्ना भएका बिरामी हेर्यो, खाना खाएर ओपीडी हेर्यो। दिउँसो प्रशासनको काम गर्दै दिन बित्थ्यो। अप्रेसन गर्ने काम सधैँ राति हुन्थ्यो।
कहिले त राति आराम गर्ने समय पनि हुँदैनथ्यो। यसको, उसको 'डिपार्टमेण्ट' भन्ने थिएन। सर्जरी गर्दा काम छुट्याउनलाई जनशक्ति पनि थिएन। ती दुई वर्षसम्म त उनीहरुलाई ओभरटाइम भन्ने पनि थाहा थिएन। ओभरटाइमको पैसा आउँछ भन्ने पनि थाहा थिएन।
फरक–फरक विषय, साझा काम
उनीहरु चारै जना फरक–फरक विषयका विशेषज्ञ हुन्। निरेशको पीएचडी गाइनोकोलोजिकल क्यान्सरमा हो भने एमडी जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन हो।
लिम्बू जनरल सर्जरीका हुन्। त्यस्तै पुजन अर्थोपेडिकका हुन भने प्रवीण क्रिटकिल कियर र एनेस्थेसियाका हुन्।
विषय फरक फरक भए पनि उनीहरुले धेरैपटक साझा काम गरेका छन्। त्यो हो, गर्भवती महिलाको अप्रेसन। जसलाई सिजेरियन सेक्सन भनिन्छ।
इमर्जेन्सी पर्दा खेरी हड्डीको डाक्टरले गर्भवतीको अप्रेसन गर्नु एकातिर चुनौती थियो भने अर्कोतिर अवसर पनि थियो।
त्यसबेला धेरै काम जिरोबाट सुरु भएको थियो। पाटनको एनस्थेसिया डिपार्टमेन्टमा काम गरेर जुम्ला आएका डा. सुबि र रविनले पनि राम्रो सहयोग गरे तर एनेस्थेसिया नभएको बेला आफैँले पनि काम गर्नुपरेका अनुभव सुनाउँछन्।
'एनेस्थेसियाको काम आफैँ गरेर अप्रेसन पनि आफैले गर्दा निकै तनाव हुन्छ,' डा. निरेशले भने।
लिम्बू तानसेनमा हुँदा जुनसुकै विषयको डाक्टरले पनि प्रसुति गराउनैपर्ने अभ्यास गरेका थिए। त्यसैले पनि निरेशले उनलाई जुम्ला आउन आग्रह गरे।
साधन स्रोतको उपलब्धता नभएको दुर्गममा अप्ठ्यारोमा परेकी महिलाको पेटबाट बच्चा निकाल्दा र दुईवटा जीवन एकै पटक बचाउन पाउँदा बिरामीको अप्रेसन गर्दा मन औधी खुशी हुन्थे। उनीहरु सन्तुष्ट हुन्थे। शायद, त्यही खुशी र सन्तुष्टिले नै होला यतिञ्जेल उनीहरुलाई जुम्ला बसाएको।
लिम्बूले थपे, 'जर्नल सर्जन भएर यता आउँदा अर्थोपेडिकबाहेक धेरैजसो बिरामीको उपचार म आफैँले गरेको छु। अल्ट्रासाउण्ड र इन्डोसकपीसमेत मैले गरेको छु। त्यो अवस्थाबाट ओटीलाई हामीले राम्रो बनाउन सकेका छौँ।'
उनीहरु यता आएदेखि यताका कति रमाइला र नरमाइला क्षणहरु छन्। अहिले हरेक विषयका विशेषज्ञ छन्। सबै खालका सुविधा छन्। अस्पतालमा डाक्टरी पढाइ सुरु भइसकेको छ। त्यो साँघुरो कोठाबाट फराकिलो अस्पताल र फराकिलो दायराको पढाइ हुने अवस्थासम्म आइपुग्दाका थुप्रै घटनाहरु छन्। बाँकी अर्को श्रृङ्खलामा प्रस्तुत गरिने छ।