प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेश आन्दोलन, दोस्रो जनआन्दोलन र आदीवासी जनजाती आन्दोलनमा परि शहिद भएका व्यक्तिका परिवारलाई पैसा दिने भएको छ।
प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई १ लाख रुपैयाँ दिन लागेको हो।
चालु आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाती आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ। सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ। यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ।
प्रदेश १ मा हाल १४ वटा जिल्ला प्रशासन कार्यालय छन्। सबै जिल्ला प्रशासन कार्यालयबाट निवेदन लिने र रकम पठाउने कार्य हुने मन्त्रालयले जानकारी दिएको छ। कार्यविधिअनुसार संघ र स्थानीय तहबाट यस्तो सुविधा लिइसकेको भए पनि दोहोरो भुक्तानी लिन पाइने उल्लेख छ।