अरुण डाँडा महोत्सव

File Photo
File Photo

स्थानीय पौवादुङमा गाउँपालिकाको अरुण डाँडा(छिन्तालुङ) मा ‘अरुण ‘डाँडा महोत्सव’ सुरु भएको छ।

स्थानीय कृषि उत्पादनका साथै धार्मिक एंव पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न छ दिने महोत्सव सुरु भएको हो। ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ भन्ने मूल नारासहित बिहीबारदेखि सुरु भएको महोत्सव छ दिनसम्म सञ्चालन हुनेछ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले भने, 'गाउँपालिकाको आन्तरिक आय वृद्धि गर्न र पर्यटकीय क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको र यसका लागि गाउँपालिकाले रु.दश लाख विनियोजन गरेको छ।'

महोत्सवमा आगन्तुकलाई लक्ष्य गरेर विभिन्न जातजातिको खानाको परिकार, कृषि प्रदर्शनी, विभिन्न संस्कार र संस्कृतिको प्रदर्शनीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति गरिएको छ। अरुण डाँडाको विकासका लागि विस्तृत परियोजना तयार गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ। यहाँको विकासको काम भइरहेकाले थप प्रचारप्रसारको लागि महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए।

'हाम्रो गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ, उनले भने, डिपीआर अनुसार अरुण डाँडाको बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा काम अघि बढाइएको छ। यो ठाउँलाई हाम्रो गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्न लागिपरेका छौँ।' महोत्सव आयोजनाबाट स्थानीयवासी उत्साहित भएका छन्।

महोत्सवमा पर्यटन प्रवद्र्धन गर्ने खालका सामग्रीका स्टल, विभिन्न भाषाभाषी र जातजातिको संस्कार झल्काउने  प्रदर्शनी, स्थानीय  खाना तथा कृषि उत्पादनको प्रदर्शनी गरिएको छ। यसले यहाँको कृषि उत्पादनलेसमेत बजार पाउने पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ज्ञानेन्द्र राईले बताए। समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडाबाट हिमालका दृश्यसँगै सुन्दर फाँटको अवलोकन गर्न सकिन्छ।

प्रकाशित मिति: : 2022-12-09 14:42:00

प्रतिकृया दिनुहोस्