समानुपातिककाे परिणाम घाेषणा नहुँदै बाँकेमा उम्मेदवारलाई बधाई र सम्मान

मंसिर ४ मा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फकाे परिणाम आइसकेपनि समानुपातिकतर्फ काे-काे सांसद बन्छन् भन्ने अझै टुंगो लागेकाे छैन। तर बाँके जिल्लामा भने समानुपातिक उम्मेदवारले माननीयकाे रुपमा बधाई तथा शुभकामना ग्रहण गर्न सुरु गरिसकेका छन्।

नेकपा (एमाले)काे तर्फबाट लुम्बिनी प्रदेशसभाकाे खस-आर्य काेटामा दाेस्राे नम्बरमा उम्मेदवार रहेकी वसन्ती (न्याैपाने) अधिकारीलाई हाेटल व्यवसायी संघ काेहलपुर, बाँकेले बिहिबार एक भब्य समारोहबीच ब्यानरमा माननीयकाे उपमा दिएरै बधाई र सम्मान प्रदान गर्‍याे।

एमाले नेत्री अधिकारीले पनि उक्त बधाई तथा सम्मान स्वरुप दिएकाे अबिर माला र प्रमाणपत्र उत्साहका साथ ग्रहण गर्दै हाेटल व्यवसायीकाे हकहितका लागि प्रदेशसभामा उल्लेखनीय भूमिका खेल्ने बचनबद्धता दिएकी थिइन्।

अधिकारी सांसद हुने सम्भावना भएपनि पार्टी र निर्वाचन आयाेगले अन्तिम परिणाम घाेषणा नहुँदै माननीयकै शैलीमा बधाई थापिरहँदा कार्यक्रममा उपस्थित अन्य सहभागीहरूले भने असहज मान्दै कानेखुसी गरेकाे कार्यक्रमका एक सहभागीले बताएका छन्।

समानुपातिक उम्मेदवार बसन्ती पछिल्लो केही दिन यता काेहलपुर क्षेत्रमा हुने कार्यक्रम तथा अनुगमनमा सांसदकै हैसियतमा प्रस्तुत र सहभागी भइरहेकाे स्थानीय बताउँछन्।

उक्त कार्यक्रममा काेहलपुर-१ बाट संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसदहरुलाई पनि आयाेजकले बधाई तथा सम्मान प्रदान गरेकाे थियाे।

समानुपातिकका अन्य उम्मेदवारलाई पनि उक्त कार्यक्रममा बधाई ज्ञापन र सम्मान गर्न निम्ताे दिएपनि अरु उम्मेदवार भने परिणाम नआउँदै बधाई नथाप्ने भन्दै कार्यक्रममा सहभागी समेत भएका थिएनन्।

प्रकाशित मिति: : 2022-12-09 13:16:00

प्रतिकृया दिनुहोस्