भुसालले भनेः ओलीको उत्तराधिकारी हाम्रो ‘शंकरजी’ हो, उहाँले धेरै राम्रो गर्नुहुन्छ !

चितवन महाधिवेशन सकिएको एकवर्ष नबित्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारीबारे राजनीतिक वृत्तमा चर्चा भइरहेकाे छ।

पूर्वप्रधानमन्त्री ओलीले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल वा महासचिव शंकर पोखरेल मध्ये कसलाई सुम्पिएलान्, एमाले।

एमालेपंक्तिमा ‘विष्णु—शंकर’को प्रायःजसो चासो, चिन्ता र चर्चा भइरहन्छ। ‘ओली’ जीवनमा उदात्त फैलिएका दुई किनारा हुन्— उपाध्यक्ष पौडेल र महासचिव पोखरेल। 

‘एमाले जीवन’ रेखामा ओली रहँदासम्म यी दुई किनाराको संगम भेट्न लगभग मुस्किलै छ। पार्टीभित्र बराबर हैसियतमै हाँकिरहेका यी दुई पात्र ‘ओली भाग—२’को दौडमा छन्। 

०००

त्यसो त नेकपा (एमाले)का पूर्वनेता घनश्याम भुसालले एमालेभित्र केपी शर्मा ओलीको उत्तराधिकारी महासचिव शंकर पोखरेल नै  भएकाे दाबी गर्छन्।

कान्तिपुर टेलिभिजनको एउटा अन्तर्वार्तामा ‘को देख्नुहुन्छ केपी शर्मा ओली पछि नेकपा (एमाले)मा?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो चाहिँ प्रष्ट छ। महाधिवेशनमा त्यसपछि पेपरले दुनियाँले जानेकै कुरा हो, उहाँ (केपी शर्मा ओली)ले ल्याउन खोजेको चाहिँ हाम्रो शंकरजी हो।’

आम निर्वाचनमा दाङ—२ बाट पराजित भएका महासचिव पोखरेलबारे यसाे भन्छन् भुसाल, ‘शंकरजी त्यहाँ पराजित हुनुभयो, त्यो त संसदीय निर्वाचनको पराजय हो। त्यसले पार्टीमा निर्णायक फरक पार्दैन।’

नेकपा (एमाले)मा अन्य नेताभन्दा महासचिव पोखरेलले धेरै राम्रो गर्न सक्ने उनको भनाइ छ। ‘ओलीजी भन्दा राम्रो धेरैले गर्न सक्नुहुन्छ। शंकरजीले नै धेरै राम्रो गर्न सक्नु हुन्छ,’ भुसालले भने।


प्रकाशित मिति: : 2022-12-08 08:44:00

प्रतिकृया दिनुहोस्