४० सिट जित्दै प्रदेशमा एमाले पहिलो दल, सरकार बनाउने सम्भावना

File Photo
File Photo

प्रदेश १ को प्रदेशसभामा नेकपा एमाले ठुलो पार्टी बनेको छ। प्रत्यक्षमा २५ र समानुपातिकमा १५ सिट गरी ४० सिट जित्दै एमाले पहिलो पार्टी बनेको हो। समानुपातिकतर्फको मतगणना सकिँदा एमालेले १५ सिट पाएको छ।

प्रदेशमा समानुपातिकमा १८ लाख ९९ हजार १४४ मत सदर भएको थियो। सदरमत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत पाएको छ।

यस्तै नेपाली काँग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादीले ५५ हजार ९५७ मत पाएका छन्।

समानुपातिबाट एमालेले १५ पाउँदा नेपाली काँग्रेसले १२, नेकपा माओवादी केन्द्रले ४, राप्रपाले ४, जनता समाजवादी पार्टी र नेकपा एसले समान १–१ सिट पाउने भएका छन्। एमालेले प्रत्यक्षमा २५, कांग्रेसले १७, माओवादीले ९, नेकपा एसले ३ र राप्रपाले २ सिट पाएका छन्।

५६ प्रत्यक्ष निर्वाचन क्षेत्र र ३७ समानुपातिक गरी प्रदेशमा ९३ सदस्यीय प्रदेशसभा छ। प्रत्यक्ष र समानुपातिक गरी एमालेको ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ सिट हुने भएको छ।

प्रदेशमा सरकार बनाउन ९३ जनामध्ये ४७ जनाको आवश्यकता पर्छ। तर, प्रदशेमा कुनै दलले यो सिट संख्या प्राप्त गरेका छैनन्। सरकार बनाउन अब दुई वा खुई भन्दा बढी दल मिलेर जानुपर्ने अवस्था छ।

गठबन्धन गरेर निर्वाचनमा होमिएका कांग्रेस, माओवादी र नेकपा एस मिल्दा पनि बहुमत नपुग्ने अवस्था छ। यो गठबन्धनले ४६ संसद प्राप्त गरेको छ। यता, नेकपा एमालेलाई सरकार बनाउन राप्रपा र जसपाको समर्थन आवश्यक छ। एमालेले जसपा र राप्रपाले समर्थन गर्दा बहुमत पुग्छ।

प्रकाशित मिति: : 2022-12-04 15:43:00

प्रतिकृया दिनुहोस्