धनुषा–३ : जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित भएकी छन्।

मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उनी ३३ हजार तीन सय ८८ मतसहित विजयी भएकी हुन्।

पाँचदलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उनी तेस्रोपटक निर्वाचित भएकी हुन्। ४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएको थिइन्।

तीन दशकदेखि राजनीतिमा क्रियाशील उनले संसदीय यात्रा भने विसं २०६४ बाट सुरु भयो। संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन्। संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा–३ मा पराजित भएकी थिइन्। २०७४ मा पुनः समानुपातिक सदस्य निर्वाचित भइन्।

जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उनको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो। विसं २०४६ देखि २०४८ सम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहेकी उनले २०५२ मा विवाहपछि रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आएकी छन्।

एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिष्द सदस्य र पार्टीको तत्कालीन जनकपुर अञ्चल कमिटी सदस्य हुँदै २०७४ मा केन्द्रीय सदस्य बनेकी थिइन्।

प्रकाशित मिति: : 2022-11-25 10:53:00

प्रतिकृया दिनुहोस्