गोरखा : दुवैै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनलाई अग्रता

file Photo
file Photo

गोरखामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनले अग्रता जारी राखेको छ।

प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म नौ हजार पाँच सय २६ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। साँझसम्मको मतपरिणामअनुसार उनले मतान्तर फराकिलो बनाउँदै लगेका हुन्।

अध्यक्ष दाहालले आफ्ना मुख्य प्रतिस्पर्धी देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई छ हजार आठ सय ८८ मतले अग्रता कायम गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए। बुर्लाकोटीले अहिलेसम्म तीन हजार ३८ मत प्राप्त गरेका छन्। त्यस्तै अर्का उम्मेदवार नेकपा (एमाले) का अब्दुस सलिम मियाँले कूल दुई हजार ९८ मत प्राप्त गरेका छन्।

त्यस्तै क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेन्द्र बजगाईं अग्रस्थानमा छन्। उनले साँझसम्मको मतणनाअनुसार तीन हजार एक सय ६२ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए।

एमालेका उम्मेदवार रामशरण बस्नेतले नौ सय ३६ मत ल्याएर बजगाईंलाई पछ्याइरहेका छन्। प्रतिनिधिसभातर्फ यो क्षेत्रमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ३७ मत प्राप्त गरेको उनले बताए। दुवै क्षेत्रमा मतगणना जारी छ।
 

प्रकाशित मिति: : 2022-11-22 21:10:00

प्रतिकृया दिनुहोस्