उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपर्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताए।
उनले भने, ‘मिडियाहरूमा माथि फाइभ स्टार होटलहरू छन् रे, डेटिङ्हरू बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ। यसको साथै त्यहाँको भेटी पाथीभरा केबलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ। तर भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन। यो केबलकारले कुनै पनि खालको धार्मिक आस्था खलबलाउने खालको काम गरेको छैन्। यो गलत हो।’
साथै, उनले कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरू आउनु स्वभाविक भएको भन्दै यसलाई अन्यथा नलिएको बताए।
उनले भने, ‘हिडेर जान समस्या हुने खालको व्यक्तिहरूलाई सहज हिसाबले जान सकोस् भनेर सुरु गरेका हौं। कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरू आउनु स्वभाविक पनि हो। त्यसलाई अन्यथा लिनु हुँदैन।’
केबलकारले पर्यटन प्रवर्द्धनमा पनि सहयोग गर्ने हुनाले भने पाथीभरामा पनि त्यसको निर्माण गरेको उनको भनाई छ।