मतदाता गाउँतिर, बजारमा घट्दाे चहलपहल

मतदाताहरु गाउँ गएसँगै जुम्ला सदरमुकाम खलंगामा चहलपहल घटेकाे छ। आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएपछि विभिन्न  पेशा व्यवसाय गरी बजार बसेकाहरु गाउँ हिँडेका हुन्।

बजार नजिककाे रत्नचूडेश्वर माविमा अध्यापन गराउने सिंजा गाउँपालिका-६ फुंग्रका दुर्याेजन राेकाया उत्साहित हुँदै गाउँ जान लागेकाे बताए।

जुम्ला बहुमुखी क्याम्पसका आशिंक शिक्षक ललित कार्की क्यास बिदा भएसँगै गाउँ गए। उनीहरुजस्तै आठै पालिकाका नागरिक मताधिकार प्रयोग गर्न उत्साहित हुँदै गाउँतिर गएपछि बजार सुनसान भएको हो।

जुम्लाका १ सय ६ वटै मतदान स्थलमा निर्वाचन सामाग्रीसहित मतदान अधिकृतलगायतका जनशक्ति शुक्रबार नै पुगिसकेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।

शनिबार बिहानसम्म जुम्लाका सबै मतदान स्थल निर्माण सकिएसँगै निर्वाचनको तयारी सबै पुरा भएको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले बताए।

'हामीले निर्वाचनका लागि जुम्लाबाट आठ सय ३९ जना कर्मचारी खटाएका छाैं। याे अवधिमा सर्वदलीय बैठक पनि सम्पन्न भएको छ,' उनले भने, 'निर्वाचनलाई शान्त मर्यादित, भयरहित वातावरणमा गराउन सबै दल सहमत भएका छन्। निर्वाचनमा अपाङ्ग, जेष्ठनागरिक लगायतका लक्षित वर्गलाई प्राथमिकता दिइनेछ।'

जिल्लामा निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए। उनका अनुसार सबै मतदान स्थलका लागि एक हजार ९ सय ५४ जना सुरक्षाकर्मी परिचालन गरिएकाे छ।

उनले भने, 'हामीले आठ सय ४३ जना म्यादी प्रहरी, दुई सय २६ जना नेपाल प्रहरी, चार सय ५० जना नेपाली सेना र दुई सय ३५ सशस्त्र प्रहरी मतदान स्थलमा खटिएका छन्।'

पार्टीका कार्यकर्ताहरुबीच हुने झडप, आपराधिक समूहको गतिविधि, अवैध हातहतियारलाई चुनौतीका रूपमा लिइएकाे उनले थपे।

जुम्लामा यसपटक ७० प्रतिशत मत खस्ने अनुमान गरिएको निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले बताए। उनका अनुसार जम्लामा ६८ हजार ६ सय ३८ मतदाता रहेकोमा केही मतदाताहरु काला पहाड गइसकेकोले ३० प्रतिशत भोट नखस्ने अनुमान छ।

जसमा निर्वाचन क्षेत्र (क) मा पुरुष १८ हजार ८ सय ७८  र महिला १७ हजार ९ सय ५ गरी जम्मा ३६ हजार ७ सय ८३ जना रहेका छन्। यस निर्वाचन क्षेत्रमा चन्दनाथ नगरपालिकासहित तातोपानी, गुठिचौर, पातारासी गाउँपालिका रहेका छन्।

त्यस्तै निर्वाचन क्षेत्र (ख) मा पुरुष १६ हजार ८ सय २२ र महिला १५ हजार ३३ जना गरी जम्मा ३१ हजार ८ सय ५५ जना मतादाता रहेका छन्। जहाँ कनकासुन्दरी, सिंजा, हिमा र तिला गरि चार वटै गाउँपालिका रहेका छन्।

निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र (ख) भन्दा निर्वाचन क्षेत्र (क) मा ४ हजार ९ सय २८ जना मतदाता बढी छन्।

प्रकाशित मिति: : 2022-11-19 17:51:00

प्रतिकृया दिनुहोस्