सर्लाही-१ : स्वतन्त्र र सत्ता गठबन्धनबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

यसपालिको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर १ (१) मा विभिन्न उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। चुनावी मैदानमा धेरै उम्मेदवार भएपनि चर्चामा भने केही मुख्य उम्मेदवार मात्र छन्।

सर्लाही १ (१) मा प्रदेशसभाका लागि सत्ता गठबन्धनबाट लोसपाका उपेन्द्र महतो र स्वतन्त्र युवा उम्मेदवार चन्द्रभुषण साह (सीबी साह) चुनावी मैदानमा आमनेसामने छन्।

महतो सत्ता गठबन्धनका उम्मेदवार ‘टेस्टेड’ उम्मेदवार हुन्। उनी यही क्षेत्रबाट चुनाव जितेका थिए। तर, चुनाव जितेर जन्मभूमि र जनतालाई उनले बिर्सेको आरोप यस क्षेत्रका अधिकांश जनताको छ।

गठबन्धनलाई पार्टीभित्रका अधिकांश नेता/कार्यकर्ताले अन्तरमनबाट स्वीकार गर्न नसकेको अवस्था तथा उनीप्रतिको असन्तुष्टि मतदातामा व्याप्त रहेको कारणले गर्दा समेत मतदाताले यसपालि 'जाति, पावर-पैसा र पार्टी'भन्दा माथि उठेर 'बदलाव र विकास'को पक्षमा मतदान गर्ने मुड बनाएकाले समेत उनलाई खासै राम्रो मत पर्ने सम्भावना देखिँदैन।

अहिले देशभर सक्षम स्वतन्त्र युवा उम्मेदवारप्रति रहेको लोभलाग्दो क्रेज र मतदाताले पनि परम्परागत राजनीतिबाट मुक्ति खोजेकाले युवा नेता साहले प्रदेशसभा सदस्य पदमा ‘एकछपा’ मत पाउने देखिएको छ। यस क्षेत्रको राजनीतिक शक्ति सन्तुलन र सामाजिक धरातललाई समेत ध्यान दिने हो भनेपनि बौद्धिक र विकासप्रेमी युवा नेताको छवि बनाउन सफल स्वतन्त्र उम्मेदवार साहले यसपालिको चुनावमा बाजी मार्ने अनुमान गरिएकाे छ।

सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) का रामचन्द्र सिंह कुशवाहा पनि चुनावी मैदानमा रहेकोले गठबन्धनको मत विभाजन हुने लगभग प्रायः निश्चित छ। जसपा-एमाले गठबन्धनबाट अधिकांश नेताले अस्वीकार गरेको चुनावी टिकटकै लागि मनोनयन दर्ताको समयमा जसपा प्रवेश गरेर उम्मेदवार बनेका अहमद मिया मुकेरीको भने खासै चर्चा छैन।

यस क्षेत्रमा अहिलेसम्म देखिएको रुझानको हिसाबले हेर्ने हो भने मतदाताले स्वतन्त्र ढंगले मतदान गरे स्वतन्त्र युवा उम्मेदवार सीबी साहले बाजी मार्न सक्ने सम्भावना अधिक देखिन्छ।

प्रकाशित मिति: : 2022-11-09 14:53:00

प्रतिकृया दिनुहोस्