किसान श्रेष्ठकाे प्रतिवद्धता : सबै वडाहरुमा ५ वर्षमा पक्की सडक विस्तार गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभाका लागि बारा-४ बाट-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले चुनावी एजेण्डामा भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।

नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडाहरुलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सबै वडाहरुलाई आउँदो ५ वर्षमा पक्की सडकको रुपमा विस्तार गरिने आफ्नो प्रतिवद्धतामा व्यक्त गरेका छन्।

अमलेखगञ्जमा रहेको विद्यमान खानेपानी समस्यालाई तत्काल सामाधान गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन्। प्रत्येक गाउँमा खानेपानीलाई पाइपलाइनका माध्यमले वितरण कार्यको आरम्भ गरिने उनले बताए।

नेता श्रेष्ठले विश्रामपुर-इटियाही- प्रसौनी- खुटवा-बुनियाद-इनर्वासिरा-महेन्द्र लोकमार्गसम्म सडक सञ्जाल निर्माण गरिने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै छतवा-वतरा-फुलवरिया-फेटा-भर्वलिया-भलुही-बंजरिया-हरपुर इनर्वासिरा हुँदै महेन्द्र लोकमार्गमा जोडिने उल्लेख गरेका छन्।

राष्ट्रिय गौरबका योजनाहरु काठमाडौं-मधेस फाष्ट ट्रयाक, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने तथा वीरगञ्ज र सिमरामा रहेको औधोगिक करिडोरलाई विशेष आर्थिक क्षेत्र (सेज) को सञ्चालन गर्ने प्रतिवद्धतामा उल्लेख छ।

आफ्नो निर्वाचन क्षेत्रमा ढल, नाला र पानीको निकासलाई व्यवस्थित गरी व्यवस्थित बसोबासको प्रवन्ध मिलाउने, सडक बत्ती, सौर्य बत्ती तथा हरियाली प्रबर्द्धनका लागि सडकपेटीमा बृक्षारोपण अभियान अघि बढाउने पनि उनले प्रतिवद्धतामा उल्लेख गरेका छन्।

पर्सा राष्ट्रिय निकुन्ज तथा छातापिप्रामा रहेको गढीमाई मन्दिरलगायत स्थानहरुलाई पर्यटन केन्द्रको रुपमा विकास गर्ने तथा जङ्गली जनावर तथा प्राकृतिक बासस्थलहरुको संरक्षण तथा सम्बर्द्धन गर्ने पनि उल्लेख गरेका छन्।

औधौगिक करिडोरमा मजदुरका लागि २ सय शैयाको सुविधा सम्पन्न मजदुर अस्पतालको निर्माण तथा सञ्चालनको प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-09 12:30:00

प्रतिकृया दिनुहोस्