विकास योजनाहरूबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा लिन्छु: विष्णु पौडेल

File photo
File photo

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षी योजनाहरुको सुरुवात गर्ने मात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताएका छन्।

रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट विस्थापित तथा प्रभावित हुने जनतालाई आवश्यकताअनुसार सुरक्षित र व्यवस्थित बसोबासका लागि आफू गम्भीर रहेको उनले बताए।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले विकास विरोधी र अफवाह फैलाउनेहरुका नियोजित भ्रममा नपर्न रुपन्देहीवासीलाई आग्रह गरे।

रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मंगलबार बुटवल उपमहानगरको वडा नम्बर ११ तथा तिलोत्तमा नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै यहाँको विकाससँगै बस्ती व्यवस्थापनको विषयमा आफू सचेत र गम्भीर रहेको उल्लेख गरे।

विशेषगरी बुटवलमा सुरु गरिएको महत्वकांक्षी विकास योजना तिनाउ–दानव करिडोरका जनतालाई विभिन्न ढंगबाट आतंकित पार्ने काम भएकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले करिडोरका नाममा कुनै पनि जनतालाई घरबारविहीन नबनाइने स्पष्ट पारे।

करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्थामा समेत बुटवलभित्रै अहिलेको भन्दा थप व्यवस्थित र विकास पूर्वाधारले सम्पन्न स्थानमा जनताको इच्छाअनुसार नै व्यवस्थापन गरिने उनले बताए। यसैगरी मोतिपुर औद्योगिक क्षेत्रका प्रभावित जनतालाई समेत व्यवस्थापन गरेर मात्रै काम अघि बढ्ने स्पष्ट पारे।

सिंगो रुपन्देहीलाई बिकासको रोलमोडलको रुपमा अगाडि बढाउने योजना अनुसार काम भएको उनले बताए। रुपन्देहीमा भौतिक पूर्वाधार तथा मानवीय विकासका लागि विगतदेखि काम गर्दै आएको स्मरण गराउँदै उनले विकासमा कसैले पनि राजनीति नगर्नसमेत आग्रह गरे।

कसैका बारेमा टिकाटिप्पणी गर्नका लागि आफूसँग समय नरहेको बताउँदै उनले  जनतासँगको भेटघाट र विकास योजनाका बारेमा छलफलमा केन्द्रित रहेको बताए।

भौतिक पूर्वाधारको बिकासँगै यहाँको मानवीय विकास तथा रोजगार सिर्जना गरी अबको यात्रा आर्थिक समृद्धितर्फ रहेको उनले बताए। यहाँ बन्दै गरेका औद्योगिक क्षेत्रबाट उत्पादन वृद्धिसँगै हजारौं युवाहरुलाई रोजगार सिर्जना गर्न सकिने उनले बताए।

यसैगरी कालिगण्डकी–तिनाउ डाइभर्सन गरी हजारौं बिघा जमिनलाई सिंचाई गरी कृषि उत्पादनमा वृद्धि, जलविद्युत आयोजना निर्माण, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए।

आगामी मंसिर ४ गते हुने निर्वाचनपछि मुलुकको नेतृत्व जनताले नेकपा एमालेलाई सुम्पिने बताउँदै उनले आगामी विकास योजनाका बारेमा आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए।

प्रकाशित मिति: : 2022-11-08 16:45:00

प्रतिकृया दिनुहोस्