‘प्रचण्ड र वर्षमानको सहमतिमै स्वतन्त्र उम्मेदवारी दिएको हुँ’

रोल्पा प्रदेशसभा ‘ख’का स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन ‘सिजल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र उपमहासचिव वर्षमान पुनको सहमतिमा उम्मेदवारी दिएको खुलासा गरेका छन्।

वाम—गठबन्धनको निणर्यविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका पुनले माओवादीकै सहमतिमा उम्मेदवारी दिएको दाबी गरेका हुन्। बागी उम्मेदवार पुनलाई उम्मेदवारी निष्क्रिय पार्न माओवादी केन्द्रका शीर्ष नेताहरूले दबाब दिइरहेका छन्।

प्रचण्ड र वर्षमान पुनको सहमतिमा उम्मेदवारी दिएको हुँ,’ आफूनिकट नेता—कार्यकर्तासँग पुनले भने, ‘कुनै भ्रममा नपर्नुहोला पार्टीबाट राजीनामा दिएपनि म माओवादी नै हुँ।’

उम्मेदवार पुनमाथि गठबन्धनका नेताहरूले एमालेसँग साठगाठ गरेको गम्भीर आरोप लगाएपछि उल्टै माओवादीका शीर्ष नेताहरूको पोल खोलेका हुन्। 

उम्मेदवार पुन नेपाली कांग्रेसका उम्मेदवार तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनविरूद्ध चुनावी मैदानमा उत्रिएका हुन्। गठबन्धनको तर्फबाट रोल्पाको एउटा प्रतिनिधिसभा र प्रदेश (क) माओवादीले पाएको छ। त्यस्तै, प्रदेशसभा (ख) कांग्रेसको भागमा परेपनि पोलिट्व्यूरो सदस्यसमेत रहेका उनी असन्तुष्ट बन्दै गठबन्धनको बागी उम्मेदवार बनेका हुन्।

त्यसो त उनले निर्वाचनपछि माओवादीमै फर्किने हल्लालाई पुष्टि गरेका छन्। ‘प्राविधिक रुपमा मैले पार्टीबाट राजीनामा दिएता पनि नेतृत्व वर्ग र आम—पार्टी पंक्तिको सहमतिको आधारमा यो उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘ढुक्क भएर कुनै भ्रममा नपरी चुनाव चिन्ह ‘धारा’मा मतदान गर्न अनुरोध गर्दछु।’


के ‘सिजल’ एमाले प्रवेश गर्न लागेका हुन् ?

प्रकाशित मिति: : 2022-11-03 13:52:00

प्रतिकृया दिनुहोस्