रोल्पा प्रदेशसभा ‘ख’का स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन ‘सिजल’ आम निर्वाचनपछि माओवादीमै फर्किएलान् कि अर्को विकल्प रोज्लान्– जताततै चासो छ।
वाम–गठबन्धनको निणर्यविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई माओवादी केन्द्रले पार्टीबाट निकालिसकेको छ।
हिजोआज उनी पार्टीबाट पूर्णरूपमा स्वतन्त्र छन्। तर ‘कांग्रेस–माओवादी’ का नेताहरूबाट अनेकौँ आरोपहरू खेप्न बाध्य छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा सदस्यको ‘ललिपप’ देखाएर फकाउँदा समेत हलचल नभएका उनी अन्ततः ‘धारो’ बोकेर चुनावी मैदानमा उत्रिएका छन्।
उम्मेदवार पुन ‘धारो’ मा भोट माग्दै मतदातासामु पुगिरहेका छन्। सत्ता गठबन्धनका बागी उम्मेदवार उनले पार्टीबाट दबाब आउँदा पनि उम्मेदवारी निष्क्रिय बनाएनन्। आफ्नो अडान कायमै राखे।
उनीमाथि गठबन्धनका नेताहरूले एमालेसँग साठगाठ गरेको गम्भीर आरोप लगाएका छन्। माओवादी केन्द्र रोल्पाका संयोजक गुणेन्द्र घर्ती ‘विज्ञान’ले रुखमा भोट हालेर कांग्रेस नेता अमरसिंह पुनलाई जिताउन अपील गरेका छन्।
‘माओवादी पार्टीका कार्यकर्ता हौँ भन्ने! धारोमा भोट हाल्ने? एमालेसँग साठगाठ गर्ने,’ उनले भने, ‘यो पार्टीको नीति विपरितको कुरा हो। यो हुन सक्दैन। त्यसैले माओवादीका नेता—कार्यकर्ता सबैले रुखले भोट हालेर अमरसिंह पुनलाई जिताउनुपर्छ।’
स्वतन्त्र उम्मेदवार पुनबारे थप टिप्पणी गर्दै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति तथा गठबन्धनका उम्मेदवार अमरसिंह पुनले एमाले महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेको दाबी गरेका छन्।
‘दीपेन्द्र पुनलाई एमालेले सहयोग गर्ने रे। शंकर पोखरेललाई भेटेको सुन्नामा आएको छ,’ उनले भने, ‘अहिले नै प्रवेश गरेपछि माओवादीबाट भोट आउँदैन जितेपछि प्रवेश गर्ने कुरा आइरहेको छ।’
बागी (स्वतन्त्र) उम्मेदवार पुनलाई प्रचण्ड र वर्षमानले कारबाहीको पत्र थमाइसकेका छन्। तर सिजल भने एमाले प्रवेश गर्न लागेको हल्ला इन्कार गर्छन्।