पार्टीको निर्णयविरुद्ध जानेलाई अनुशासनको कारबाही गरिन्छ– वर्षमान पुन

फाइल तस्विर
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले गठबन्धनबारे पार्टीले गरेको निर्णय उल्लंघन गर्नेलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन्।

सत्ता गठबन्धन भत्काउँदै माओवादी रोल्पका इन्चार्ज दीपेन्द्र पुन स्वतन्त्र उम्मेदवार बनेपछि नेता पुन आक्रोशित बनेका हुन्। पार्टीले गरेको निर्णयविरुद्ध नलाग्न मातहत सबै जिल्ला कमिटी र नेता–कार्यकर्तालाई उनले आग्रह समेत गरेका छन्।

स्वतन्त्र उम्मेदवार दीपेन्द्रका सन्दर्भमा आफू जानकार नभएको बताएका छन्। ‘मलाई स्वतन्त्र रुपमा उठेको जानकारी छैन,’ बिएल नेपालीसँग नेता पुनले भने, ‘रोल्पामा हामीहरूले गठबन्धन गरेका छौँ, यो केन्द्रको निर्णय हो। यदि कसैले स्वतन्त्र उम्मेदवार दिनुभएको छ भने भोलि नै फिर्ता लिनुहुनेछ वा जिम्मेवारीबाट राजीनामा दिनुहुनेछ।’

पार्टीको निर्णयको पालना नहुनुलाई विधान र अनुशासन उल्लघंनको रुपमा लिने उपमहासचिव पुनले जनाएका छन्।

‘गठबन्धन अहिलेको आवश्यकता हो। गठबन्धनभित्रका कांग्रेस–माओवादीले ७७ वटै जिल्लामा उम्मेदवार उठाएका छन्। त्यसकारण स्वतन्त्र उठ्न आवश्यक छैन,’ उनले भने।

प्रकाशित मिति: : 2022-10-09 18:32:00

प्रतिकृया दिनुहोस्