कांग्रेसलाई भाेट हाल्न नमानेपछि 'सिजल'लाई प्रचण्डले पार्टीबाट निकाले

नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुनमगर 'सिजल' र केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य काशिचन्द्र बराललाई कारबाही गरेको हो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित प्रदेश समितिका इन्चार्ज/अध्यक्षको नाममा विशेष परिपत्र गर्दै उनीहरूलाई कारबाही गरिएको जनाएका छन्। भण्डारीले धनकुटाबाट, मण्डलले सप्तरी क्षेत्र नं १ र बरालले कालिकोटबाट प्रतिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यस्तै यादवले मधेस प्रदेशअन्तर्गतको पर्सा निर्वाचन क्षेत्र नं ४ (क) र सिजलले रोल्पा क्षेत्र नं १ (ख) बाट पार्टी र गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्।

माओवादीले पार्टीका प्रदेश समिति सदस्यहरू गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवार रहेको भएमा वा त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा तत्काल केन्द्रीय कार्यालयमा कारबाहीका लागि सिफारिस गर्न सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिएको छ।

प्रकाशित मिति: : 2022-10-29 19:40:00

प्रतिकृया दिनुहोस्