ओनसरी घर्तीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छ : दीपक कुइँकेल 

कांग्रेस नेता दीपक कुइँकेलले काठमाडौं–२ की सत्ता गठबन्धन उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरूले लिने बताएका छन्।

शनिबार काठमाडौं–२ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्र नभई कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको बताए।

घर्ती जत्तिको राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु कुइँकुलले काठमाडौं-२ का मतदाताका लागि खुसीको कुरा भएको बताए।

‘ओनसरी घर्ती योग्य उम्मेदवार हुनुहुन्छ। उहाँलाई जिताउने जिम्मा हाम्रो हो। काठमाडाैँ-२ का काँग्रेसजन र समाजवादीको हो’, उनले भने, ‘लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवार जिताउनु हाम्रो धर्म हो।’

संविधानसभा उपाध्यक्ष भएर संविधान निर्माण र संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुखका रुपमा संविधानअनुसारका कानुन निर्माणमा घर्तीले सकारात्मक भूमिका खेलेको उनले बताए।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता नितेश पौडेलले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन पक्षधर उम्मेदवार पराजित हुने दाबी गरे।

पूर्वसभामुख घर्तीले आफूलाई एक महिनाको समय दिन कार्यक्रममा सहभागी सबै दलका नेता कार्यकर्तालाई आग्रह गरिन्।

आफूलाई एक महिनाको समय दिन भन्दै उनले काठमाण्डु–२ का लागि आफूले पाँच वर्ष दिने बताइन्। उनले वर्तमान संविधान र राजनीतिक व्यवस्था स्वर्गीय काँग्रेस नेता गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको साझा मिशन भएको उल्लेख गरिन्।

‘गिरिजाबाबु, कमरेड प्रचण्ड र कमरेड माधव नेपाल मिलेर अघि बढाउनु भएको शान्ति र संविधानको मिशन हो’, उनले भनिन्, ‘अहिले व्यवस्था र संविधानमाथि प्रतिगामीहरुले आक्रमण गरिरहेका छन्, यो रोक्न बाम लोकतान्त्रिक गठबन्धन बनेको हो।’ घर्तीले काठमाडौं–२ को समग्र विकासका साथै तीन कुने र सिनामंगल क्षेत्रको मुआब्जा र अधिग्रहणको समस्या समाधानमा आफ्नो प्रयास रहने बताइन्।

प्रकाशित मिति: : 2022-10-15 18:20:00

प्रतिकृया दिनुहोस्