उम्मेदवारी खारेज भएपछि गुरुङद्वारा सर्वोच्चमा रिट दायर

file photo
file photo

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका छन्।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन अधिकृतको कार्यालयले क्षेत्राधिकार मिचेर निर्णय गरेको र असंवैधानिक निर्णय भन्दै निर्णय खारेज र उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। 

नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दर्ता गराएका गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राति साढे ११ बजे सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो। 

अदालतमा विचाराधिन भएको मुद्दालाई आधार बनाएर प्रकृया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै न्याय पाउ भन्दै उनले अदालतमा उजुरी दिएका हुन्।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए।

प्रकाशित मिति: : 2022-10-13 18:54:00

प्रतिकृया दिनुहोस्