सत्तारुढ गठबन्धनले गठबन्धनको टिकट बाँडफाँडका विषयमा सहमति जुटाउने प्रयास चलिरहँदा जिल्ला–जिल्लामा सम्भावित उम्मेदवारहरु आ-आफ्नो स्थान सुरक्षित गर्ने दाउपेचमा लागेका देखिन्छन्।
त्यस्तै गठबनधनको असर पर्ने जिल्ला हो बाँके। त्यसमा पनि क्षेत्र नं. २ र यस अन्तरगत पर्ने प्रदेश तर्फका दुई सिट। यो पटक गठबन्धनका जनता समाजवादी पार्टीका तर्फबाट संघीय मन्त्री ईस्तियाक राईको सम्भावना बढी छ। यदी जसपा गठबन्धन भन्दा बाहिर गयो भने फरक अवस्था आउन सक्ने सम्भावना पनि उत्तिकै छ। तर गठबन्धन कायम रहे नेपालगन्जमा संघ तर्फ जसपाका राई भिड्ने त छन नै प्रदेशमा माओवादीले आफ्नो भाग खोज्ने छ।
त्यसैगरी नेकपा एकिकृत समाजवादी पार्टीले पनि आफ्नो दावी गर्ने देखिन्छ। समाजवादीको दाबी रहेपनि पार्टी उपस्थिति २(ख)मा संगठनात्मक अवस्थामा समाजवादी पार्टी कम्जोर पर्न सक्छ। त्यति मात्रै नभएर जसपाले समेत प्रदेशमा एक ठाउँ मागेको स्राेत बताउँछ।
यस्तो परिस्थितिम कांग्रेसबाट प्रदेश मन्त्री रहेका सुरेन्द्र हमालले आफ्नो साख जोगाउन सक्लान वा सिट असुरक्षित महशुस गर्दै अर्को क्षेत्र रोज्ने हुन यसै भन्न सकिन्न। क्षेत्रीय कमिटिले उनलाई उनले जितेकै २(ख)क्षेत्रबाट सिफारिस त गरिसकेको छ।
सुरेन्द्र हमाल लुम्बिनी प्रदेशका बहाल वाला मन्त्री हुन्। कुनै बेला नेपाली कांग्रेसका 'हेभी वेट' उम्मेद्वारका रुपमा चर्चा कमाएका हमाल यतिबेला चुनाव लड्न कुन क्षेत्र जाने भन्ने दुविधामा परेका देखिन्छ।
उक्त क्षेत्रमा नेपालगन्जका सामाजिक क्षेत्रका अगुवा डा.बिनोद कर्ण सहित विपक्षि दलका अरु उम्मेद्वारले चुनौति दिनेछन्। डा.कर्णको लोकप्रियता यतिबेला सामाजिक सञ्जालको चर्चाको विषय छ।
बाँके क्षेत्र नं. २ (ख)बाट पछिल्लो पटक प्रदेश सभाषद निर्वाचित भएका मन्त्री हमाल गठबन्धनमा चुनाव लड्न साविकको सिटमा असुरक्षित महशुस गरिरहेको उनि निकट स्राेत बताउँछ।
कांग्रेस पार्टीको आन्तरिक चुनावमा क्षेत्र नं.२ मा उनको भुमिका पछी हमालको पुरानो छविमा धक्का लागेको बुझिएको छ। त्यसैगरी जिल्ला सभापति अधिवेशनमा हार ब्यहोरेका हमालबाट यतिबेला त्यो 'हेभी वेट' को शाख जोगीन्छ कि जोगिन्न चुनौतिपुर्ण देखिन्छ।
२०७४को चुनावको जितमा पनि उनले फराकिलो जित निकाल्न सकेका थिएनन्। उनकै वडा नं.२मा हालै सम्पन्न राप्रपाले वडा तह जितेको अवस्था छ। हमाल खेल क्षेत्रमा जोडिएका ओलम्पियन हुन्।
उनको विगत हेर्दा २०५४सालमा स्थानीय चुनावमा पराजय भोगेको नमिठो अनुभव पनि छ। उनि त्यतिबेला तेस्रो स्थानमा समेटिएका थिए।
मन्त्री हमालले लुम्बिनी प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा समेत मतदान प्रक्रियाबाट पन्छिएको आरोप खेपेका थिए। कांग्रेस भित्र संस्थापन पक्षका भएपनि उनलाई प्रदेशको मुख्य सचेतकबाट हटाईएको थियो। हमालको स्थानमा रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित फखरुदिन खानलाई नियुक्त गरिएको थियो।
प्रदेश मन्त्री रहँदा उनले बाँकेको विकासमा उल्लेखनीय भूमिका निर्वाह नगरेको र प्रदेश सरकारबाट विनियोजन हुने बजेटमा बाँकेका लागी वजेट जुटाउन नसकेको भनेर सञ्चार माध्यममा आलोचना खेपेका थिए।
कुनैबेला कांग्रेस सभापति र प्रधानमन्त्री सुशील कोईराला निर्वाचित भएको क्षेत्र पनि हो क्षेत्र नं. २ बाँके। नेपालगन्ज शहर षेत्र नं. २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार हमालले उतिबेलाको संघीय समाजवादी फोरमका उम्मेदवार दुर्गेस गुप्तालाई ७सय७९ मत अन्तरले पराजित गरेका थिए। हमालले ९ हजार २सय११ र गुप्ताले ८ हजार ४सय३२ मत प्राप्त गरेका थिए।
२०४१ सालमा धनगढीमा सम्पन्न राष्ट्रिय भारत्तोलन प्रतियोगितामा 'नेपालकै बलियो व्यक्ति’ को उपाधि सहित स्वर्ण पदक जितेका हमाल आसन्न चुनावमा मतदाताबाट फेरी बलियो मत पाउने उम्म्द्वार बन्न सक्छन कि सक्दैनन भन्ने प्रश्न उठेको छ।
राजनीतिक जिवनमा स्व.कोईराला परिवारसँग दूरी बढेपछी उनी वर्षौं निष्क्रिय झैं देखिए। कुनै बेला क्यान्सर रोगबाट ग्रस्त भएका उनि रोग मुक्त भएर तङ्ग्रिएसँगै फेरी राजनीतिमा अघि बढेका थिए। राष्ट्रिय खेलकुद परिषदमा कोषाध्यक्ष पनि भए। २०४२–०४३ तिर रेस्ट्रिक्टेडमा परेर उतिबेला साग प्रतियोगिता खेल्न पाएनन। यो पटक चुनाव लडे भने मतदाताबाट 'रेष्ट्रिगेट' हुन सक्ने सम्भावनाले चुनौति दिईरहेको देखिन्छ पनि।
वि.सं.२०४८ सालमा नेपालगञ्जमा आयोजित राष्ट्रिय भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक जितेपछी उनले खेलबाट सन्यास लिएका थिए। कतै यो पटकको चुनाव पछी उनको राजनीतिक यात्रामा विराम लाग्ने त होईन सवाल पेचिंलो छ।
नेपालगन्ज त्यस्तो शहर हो जहाँका मतदाताको मतदान ट्रेण्ड अदभूत मान्नु पर्छ। कुनैबेला सबै सिट कांग्रेसले जित्यो। परिस्थिति बदलिएर सबै सिट राप्रपाले जित्यो। टावरिङ्ग पर्सनालिटी स्व.सुशील कोईरालाले पटक पटक चुनाव हारेका थिए।
पहिलो संविधान सभामा सुशील कोईरालालाई हराउँदै तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार सर्बदेव ओझाले चुनाव जिते। तर दोस्रो संविधानसभा निर्वाचनमा उनै ओझाले केवल ७७ मत मात्रै पाए उनै सुशील कोइराला विजयी भएका थिए।