रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध साहारा चितवन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सकिएको छ।

चितवन जिल्ला अदालतमा बुधबारबाट न्यायाधीश दयाराम ढकालको इजलासमा भएको बयान र थुनछेक बहस सकिएको हो। बहस सकिएसँगै आजै आदेश आउँने बताइएको छ।

आज इजलासले रविलाई साधारण तारेख वा धरौटीमा छाड्ने वा पूर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ। हिजो लामिछानेविरुद्ध थुनछेक बहस नसकिएपछि न्यायीक हिरासतमा पठाइएको थियो।

बिहीबार लामिछानेविरुद्ध तीन जिल्लाका न्यायाधिवक्ताले बहस गरेका थिए। बारा जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ जिल्लाबाट आएका दशरथ पंगेनीले बहस गरेका थिए। त्यस्तै रवि पक्षका वकिलहरूले रविमाथिको मुद्दाको प्रतिवाद गरेका थिए।

बुधबार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन्। त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणमा रविसहित २१ व्यक्ति र संस्थाविरुद्ध मंगलबार मुद्दा दर्ता भएको थियो। रविसहित ३२ जनाविरुद्ध  ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

प्रकाशित मिति: : 2025-02-06 15:44:00

प्रतिकृया दिनुहोस्