राहुल राय
गोलबजार नगरपालिका-१० का ज्ञान यादव सिरहा कारागारबाट रिहा हुने दिन नजिकिँदै गर्दा खुशी हुनुको सट्टा तनावमा थिए। तनावको कारण थियो कैदमुक्त हुनु दुई दिनअघि जेलका नाइके विजय महतोलाई बुझाउनुपर्ने नजराना रकम कसरी जुटाउने?
उनले घरमा तारान्तार फोन गरेर १० हजार ५ सय रुपैयाँ मगाए। माघ १६ गते सिरहा कारागारबाट रिहा हुने दिन थियो। दुई दिन अघि नाइके महतोलाई १० हजार ५ सय नजराना बुझाए।
यो घटना अपवाद होइन। सिरहा कारागार भित्रको प्रमाण हो। यहाँबाट रिहा हुने हरेक कैदीबन्दीले कैदमुक्त हुनु दुई दिनअघि नाइके विजय महतोलाई त्यति रकम बुझाउनैपर्छ। रिहाईको दिन नजिकिएसँगै कैदीबन्दीलाई ठूलो चिन्ता हुन्छ १० हजार ५ सय कसरी जुटाउने?
कैदमुक्त ज्ञान यादव भन्छन, ‘रिहाई हुनु दुई दिन अघि नै उसले जेलका नाइके महतोलाई १० हजार ५ सय नजराना चढाउनैपर्छ। रिहा हुने एक साता अघि नै नाइके महतोले चेतावनी दिन्छन्। चेतावनी दिएको तीन दिनभित्र रकम नबुझाए कुटपिट गर्न थाल्छन्। यातना दिन थाल्छन्। कैदी बन्दीले घरमा फोन गरेर रकम मगाउँछन्।’
धरौटी राख्न ढिला हुँदा दुई दिनका लागि कारागार चलान गरिएका राजदेव यादवले पनि १० हजार ५ सय नाइके महतोलाई दाम चढाउनैपर्यो।
भन्छन्, ‘त्यति रकम नदिएसम्म कारागारबाट निस्कनै दिएनन्। मन्दिर बनाउने, कारागारको भित्ता रंगाउने वा मर्मत गर्ने नाममा नाइके महतोले हरेक मुक्त हुने कैदीबन्दीसँग रकम असुल गर्छन्। सिरहा जेलभित्र नेपालको कानून चल्दैन। त्यहाँ विजय महतोले जे बोल्यो त्यही कानून बनेर लागु हुन्छ।’
हात हतियार खरखजाना मुद्दाबाट सजाय पाएर जेलमुक्त भएका कल्याणपुर नगरपालिकाका कैदी सकिल अन्सारी भन्छन, ‘मैंले पनि १० हजार ५ सय बुझाउनै पर्यो।’
उनले पनि नाइके महतोको यातना भोग्नु परेको सुनाए। अन्सारी भन्छन्,‘नाइके महतोसँग जेल प्रशासन, सीडीओ र एसपी सबैको मिलोमतो छ। नाइके महतोले जिल्लाका हाकिमहरूसँग फोन संवाद गरिरहन्छन्।’
अन्सारी भन्छन्, ‘जेलभित्र नाइके महतोले ठूलो व्यापार चलाएका छन्। चुरोट सूर्य ४५, शिखर २५, खुकरी २०, प्रति खिल्ली र राज निवास गुट्खा प्रति प्याकेट २५ रुपैयाँमा बिक्री गर्छन्। थरीथरीका मदिरा, लागू औषध जेलभित्र उपलब्ध छ। जसले जे किने पनि नाइकेकै पसलबाट किन्नुपर्छ। बाहिरबाट मगाएको थाहा पाए भने उनले कैदीलाई कुटपिट गर्छन्। कैदीको गुनासो कसैले सुन्दैन।’
अन्सारी भन्छन्, ‘कसैले बाहिर गएर पत्रकार वा मानव अधिकारकर्मीहरूलाई केही सुनायो भने उसलाई फेरि कुनै मुद्दामा फसाएर जेलभित्र मगाउँछु, त्यसपछि कुट्छु भनेर धम्की दिन्छन्। नाइके महतोले प्रहरी प्रशासन आफ्नै हातमा भएको घमण्ड गर्छन।’
अन्सारीका अनुसार नाइके महतोले मोबाइल राखेका छन्। जेलभित्रका झण्डै ५५० कैदीले त्यहीबाट घरमा फोन गर्नुपर्छ। चर्को शुल्क लिइन्छ। फोनबाट मात्र उनले करिब तीन लाख महिनाको आम्दानी गर्छन्। सिरहा जेलमा लागु औषध र रक्सी जति पनि पाइन्छ।
जेलको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार नाइके महतोले जेलभित्र असुल गर्ने नाजायज रकम मासिक १० लाखभन्दा अधिक हुन्छ।
उनले भने, ‘हामी सानाको काम ड्युटी गर्नु हो। ठूलाले मोज गर्छन्। आम्दानीबाट नाइके महतोले जेलर, प्रमुख जिल्ला अधिकारी र एसपीलाई समेत नजराना पठाउँछन्। महिनैपिच्छे घुमुवामार्फत ठूला हाकिमहरूले रकम असुलेर लान्छन्।’
तीन महिनाअघि सिरहा कारागारभित्र नाइके महतोले लागू औषध र मदिराको व्यापार चलाएको सञ्चार माध्यमहरूमा समाचार आएको थियो। त्यसपछि छानविनका लागि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एक समिति गठन गरेका थिए। तर धेरै दबाब दिंदा पनि प्रजिअ दाहालले सो छानविन समितिको प्रतिवेदन सार्वजनिक गरेनन्।
प्राप्त जानकारी अनुसार गृह मन्त्रालयबाट आएको पत्रमा कर्तव्य ज्यान मुद्दामा जन्मकैदमा सजाय पाएका नाइके विजय महतोलाई जेल सरुवा गर्न भनिएको छ। तर प्रमुख जिल्ला अधिकारी दाहालले नै उनको जेल सरुवा टार्न खोजेको बताइन्छ।
यस सम्बन्धमा सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालसँग जिज्ञासा राख्दा उनले भने, ‘हामीले पनि हिजो मात्र यो यस्तो घटना सुन्यौं। जेल प्रमुखलाई छानविन गर्न भनेका छौं। बुझ्ने काम हुँदैछ।’
त्यसैगरी प्रहरी उपरीक्षक रमेश पण्डितसँग जानकारी राख्दा भने, ‘यसबारे सोधिखोजी सुरु भएको छ। छानविन गर्दैछौं। प्रमाणित भए उनीहरूलाई थप सजाय हुन्छ।’
कारागार प्रमुख राजन घिमिरेले भने, ‘म भर्खरै आएको छु। दिउँसो जिल्ला प्रशासनमा काम गर्छु। साँझमा कारागार हेर्न पुग्छु। जेलभित्रका कुरा हामीलाई पनि सजिलै थाहा हुँदैन। म शूक्ष्म तरिकाले अध्ययन अनुसन्धान गर्दैछु। तथ्य फेला परेपछि कारवाही गर्छौ।’