दुबईमा एक नेपाली श्रमिक युवाले जिते ३५ करोडको चिट्ठा

दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन्।

विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन्।

गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी सबैभन्दा कम कमाउने विजेता मध्येका एक हुन्।

मजुजले साप्ताहिक रूपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि काटिरहेका थिए। अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए।

यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन। ‘म त निकै खुसी छु’ उनले भने, ‘शनिबार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ।’

मजुजका सिईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीले यसमा सहभागिता जनाउँदै आएको भन्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताएका छन्।

प्रकाशित मिति: : 2022-09-22 08:12:00

प्रतिकृया दिनुहोस्