‘लौरो अभियान’द्वारा सबै स्वतन्त्र उम्मेदवारलाई एकजुट हुन आग्रह

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले देशभरका सम्पूर्ण स्वतन्त्र उम्मेदवारहरूलाई एकजुट हुन आग्रह गरेको छ।

आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेश सभाकोे निर्वाचनमा ‘लौरो’ चुनाव चिन्ह लिन चाहने उम्मेदवारहरूलाई अभियानमा जोडिन् आग्रह गरिएको हो।

पहिलो चरणमा देशका विभिन्न ठाउँमा पुगेर स्वतन्त्र उम्मेदवार घोषणा गरिसकेको अभियानले दोस्रो चरणको घोषणा कार्यक्रमको लागि देशभरका सबै उम्मेदवारलाई अभियानमा जोडिन अनुरोध गरिएको छ। 

यसअघि अभियानले लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने उम्मेवारहरूको आवेदन खुल्ला गरेको थियो, जसमा १ हजार ५ सय बढी उम्मेदवारहरूले आवेदन दिएका छन् भने अन्यलाई पनि आवेदन दिन आग्रह गरेको हो। 

आवेदन दिएका मध्येबाट छनौटमा परेका उम्मेदवारहरूलाई अभियानको दोस्रो चरणको कार्यक्रममार्फत लौरो चुनाव चिन्ह प्रदान गर्ने अभियानका प्रवक्ता हरि कार्कीले जानकारी दिए।

सुमन सायमी अध्यक्ष रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले प्रतिनिधिसभा तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरूको लागि लौरो चुनाव चिन्ह प्रदान गर्छ। 

यस अभियानमा जोडिने सबैले लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन सक्नेछन्। यसको लागि कुनै नियम वा परिधि तोकिएको छैन। तर, लौरो चुनाव चिन्ह लिन चाहने उम्मेदवार राजनीतिक दलमा आवद्ध नभएको, उच्च शिक्षा हासिल गरेका वा कुनै पेसा व्यवासायमा रहेर काम गरेको र सामाजिक कार्य सक्रिय रहेको हनुपर्ने छ।

त्यसैगरी अभियानले विभिन्न चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका अन्य उम्मेदवारहरूलाई यस अभियानमा जोडिएर एकजुट भएर अगाडि बढ्न अुनरोध गरेको छ। सबै स्वतन्त्र उम्मेदवारहरूको चाहना नेता बन्नु नभएर देश बनाउनु भएकोले सबै स्वतन्त्र उम्मेदवार एकजुट हुन आवश्यक रहेको अभियानको ठहर छ। ‘हामी स्वतन्त्र उम्मेदवारहरूले लौरो चुनाव चिन्ह लिए पनि वा घण्टी र आमा चुनाव चिन्ह लिए पनि सबैको उद्देश्य देश बनाउनु हो, त्यसैले हामी एकजुट हुन जरूरी छ,’ लौरो अभियान्ता अनन्तराज घिमिरेले भने,‘आउनुहोस् वार्ता गरेर सबै जना एकजुट भएर चुनावमा सहभागी बनौँ।’

स्वतन्त्र उम्मेदवारलाई ‘लौरो’ चुनाव चिन्ह किन आवश्यक?

निर्वाचन आयोगमा लौरो चुनाव चिन्ह रहने गरी ‘हाम्रो नेपाल’ नामको पार्टी दर्ता छ। जसका अध्यक्ष हुन्, अनन्तराज घिमिरे।

गत स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिन्ह लिएर काठमाडौँमा बालेन साह, धनरानमा हर्क सम्पाङ र धनगढीमा गोपाल हमाललगायत स्वतन्त्र उम्मेदवारहरूले विजयी हासिल गरेका थिए। त्यसपछि लौरो चुनाव चिन्हलाई स्वतन्त्रहरूको ब्राण्डका रूपमा लिइयो। यसरी स्वतन्त्र उम्मेदवारहरूको ब्राण्ड संरक्षणका लागि घिमिरेले पार्टी दर्ता गरेका हुन्। यही लौरो चुनाव चिन्हलाई अभियान्ताहरूले स्वतन्त्र उम्मेदवारहरूको हतियारका रूपमा मान्छन्। ‘बुढाबुढीलाई टेकाउने भ्रष्टाचारीलाई सेकाउने’ नारासहित यो लौरो चुनाव चिन्हलाई ब्राण्डिङ गरिएको छ।

त्यसो त आयोगमा दर्ता भएको पार्टीको चुनाव चिन्हबाट लड्ने उम्मेदवारहरू स्वतन्त्र हुन सक्दैनन् भन्ने कानुनी मान्यता छ। तर, यो पार्टी लौरो चुनाव चिन्ह सुरक्षित गर्नेको लागि कागजी रूपमा मात्रै दर्ता गरिएको बताउँछन्, अनन्तराज घिमिरे। उनका अनुसार यो पार्टीको संगठन, नीति नियम, विधि विधान छैनन्, मात्र यसमा अनुशासन छ।

आयोगले स्वतन्त्र उम्मेदवारहरूको लागि निर्वाचन मितिको सात दिनअघि मात्रै चुनाव चिन्ह प्रदान गर्छ। तर, सात दिनको अवधिमा प्रचारप्रसारमा समस्या हुने, मतदातालाई चुनाव चिन्हबारे बुझाउनै नसकिने, चुनाव चिन्हमै अलमल हुँदा सोचअनुसारको परिणाम निकाल्न नसकिने जस्ता समस्या हुने भएकोले पहिलै चुनाव चिन्ह सुरक्षित गर्नु परेको प्रवक्ता कार्की बताउँछन्।

‘चुनाव चिन्ह सात दिनअघि मात्रै पाइने हुँदा स्वतन्त्र उम्मेदवारहरूलाई प्रचार गर्न समय हुँदैन, त्यसैले देशको मुहार फेर्नको लागि स्वतन्त्र उम्मेदवारी दिन चाहने साथीहरूलाई यो समस्या नहोस् भनेर, हामी लौरो चिन्ह सुरक्षित गरेका हौँ, यसमा जोडिपछि अहिलैदेखि नै प्रचार गर्न पाइयो,’ प्रवक्ता कार्कीले भने। उनले सबै स्वतन्त्र उम्मेदवारहरूलाई अभियानमा जोडिन पनि आग्रह गरे।
 

प्रकाशित मिति: : 2022-09-21 14:15:00

प्रतिकृया दिनुहोस्