अन्य पार्टीबाट आएकालाई एमालेमा समानुपातिक मापदण्ड लचिलो

नेकपा एमालेले अन्य पार्टीबाट आएकालाई समानुपातिक उम्मेदवार बनाउन मापदण्ड लचिलो बनाएको छ। 

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको नेकपा एमालेको सचिवालय बैठकले अन्य दलबाट पार्टीमा प्रवेश गरेकालाई समानुपातिकमा राख्ने मापदण्ड खुकुलो गरेको हो।

एमाले उपमहासचिव समेत रहेका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले पार्टीले समानुपातिकमा राख्ने मापदण्ड अन्य दलका लागि लचिलो व्यवस्था गरिएको बताएका छन्। 

संविधान सभा र २०७४ को निर्वाचनमा समानुपातिकमा रहेर प्रतिनिधित्व गरिसकेकालाई यसपटक समावेश नगरिएको उनले बताएका छन्। 

'पहिलो संविधान सभादेखि दोस्रो संविधान सभा र २०७४ को निर्वाचनमा समानुपातिक भएर प्रतिनिधित्व गरिसकेका महिला वा पुरूषलाई यसपटक समावेश गरेका छैनौँ। दोस्रो, विगतको निर्वाचनमा उम्मेदवार भएर पराजित भएकाहरू, जित्ने जितिहाल्यो, तिनीहरूलाई पनि यो लिस्टमा समावेश गरेका छैनौँ। २०७४ को निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उपप्रमुख भएर निर्वाचित भएकाहरूलाई पनि यसपटक यो सूचीमा समावेश गरेका छैनौँ', उनले भने।

तर अन्य दलबाट आएकाको हकमा भने लचिलो व्यवस्था गरिएको उनले बताएका छन्। 'अरू विभिन्न पार्टीबाट आएका नयाँको हकमा भने यो मापदण्डलाई छोडेर अलिकति लचिलो भएर निर्णय गरेका छौँ', उनले भने।

प्रकाशित मिति: : 2022-09-18 19:02:00

प्रतिकृया दिनुहोस्