कुनै समय थियो, महिलाहरु चुलोचौकोमै सीमित हुनुपथ्याे। तर पछिल्लो समय महिलाहरु चुलोचौकोमा मात्र होइन सामाजिक कार्यसँगै आयआर्जनमा जोडिएका छन्। लघुवित्तमा जोडिएपछि अहिले महिलाहरु उद्यममा जोडिएर आम्दानी गर्दै आएका छन्।
स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखामा आवद्ध समूह ३१ की प्रमुख लक्ष्मी गिरीले कुनै समय गाउँ घरमा पैसा सापटी माग्दा पनि पत्याउने अवस्था थिएन। जब लघुवित्तमा जोडिइन्, त्यसपछि उनलाई जीवनयापन गर्न सजिलो भएको छ।
‘मैले पैसा सापटी माग्दा गाउँका मान्छेले दिन मान्ने अवस्था पनि थिएन, त्यसले आफ्नो जीवन यापनमा पनि समस्या हुन्थ्यो’, उनले भनिन् ‘तर, अहिले लघुवित्तमा जोडिएपछि सहज भएको छ।’
त्यस्तै सोही ठाउँकै बेलमति विकलाई पनि घर धान्न समस्या हुन्थ्यो। अहिले लघुवित्तबाटै ऋण लिएर व्यवसायिक खेती गरेपछि उनले पनि मनग्य आम्दानी गर्दै आएकी छिन्। ‘लघुवित्तले हामी जस्तै थुप्रै महिलाहरुलाई सहज बनाएको छ’ उनले भनिन्।
केन्द्र ३१ की प्रमुख गिरीका अनुसार महिलाहरुले लघुवित्तबाट ऋण लिएर भैसी, कुखुरा पालन गर्नुका साथै व्यवसायिक खेती गरेर मनग्य आम्दानी गर्ने गरेका छन्। जसबाट उनीहरुले आम्दानी गर्नुका साथै समाजमा प्रतिष्ठा पनि बढेको छ।
‘हामीले आम्दानी मात्रै गर्ने गरेका छैनौं’, उनले भनिन् ‘समाजमा प्रतिष्ठा पनि कमाएका छौं, ‘सबैले सम्मान गर्ने भएका छौं, सबैसँग आफ्ना कुरा राख्न सक्ने भएका छौं।’
स्वाबलम्बन लघुवित्त वित्तिय संस्थाका मात्रै तुलसीपुरमा २५१ वटा केन्द्रहरु छन्। संस्थाका तुलसीपुर शाखा प्रमुख चन्द्रबहादुर थापाका अनुसार साना तथा मझौला व्यवसायीहरुलाई कुनै पनि निकायले चासो नदिएकाले यस्ता व्यवसायीहरुलाई लघुवित्तले लगानी गरेको बताए। जसले गर्दा उद्यममा सहज भएको उनको भनाई थियो।