लौरो अभियानको उद्घोष: पूरानाको विकल्प हामी

लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरूले अबको नेतृत्व पूरानो नेतृत्वको विकल्पमा आफूहरू रहेको बताएका छन्।

गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ  बाट राप्के गुरूङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। 

यस्तै, प्रदेश सभा सदस्य पदका लागि कास्की १ (क) बाट सुचेन्द्र परियार, ३ (क)बाट खेम तिमिल्सिना, स्याङ्जा १ (ख)बाट नरेन्द्र बहादुर थापा क्षेत्री, स्याङ्जा १ (क) बाट मकुल मियाँ, कास्की १ (ख)बाट  महेश श्रेष्ठ, नवलपुर १ (क)बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गरेका छन्। 

उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमी, रोहन कार्की, प्रवक्ता हरि कार्कीलगायत अभियानका अभियन्ताहरूको उपस्थिति रहेको थियो। 

अभियानका प्रवक्ता हरि कार्कीले देशको परिवर्तनका लागि वैकल्पिक शक्ति एकजुट भएर लौरो अभियान बनेको बताएका छन्। ‘परिवर्तनप्रेमी वैकल्पिक तथा स्वतन्त्र शक्तिहरू एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘पूराना राजनीतिक पार्टीहरूलाई हेरि सक्नु भएको छ। अब हामीलाई हेर्नुस्।’

अभियानका संयोजक सुमन सायमीले अभियानले देशका पूराना शक्तिलाई विस्थापित गर्ने बताएका छन्।

‘वैकल्पिक शक्तिलाई साझा चुनाव चिन्ह र साझा घोषणापत्र दिएर गोलबद्ध गराएर हिडेका छौं हामी। देश भरको माहोल हेर्दा हामी पूराना शक्तिलाई विस्थापित गर्न सक्छौं नै, अब अभियान्ता साथीहरूले चाहेको खण्डमा हामी संगठनको रूप दिन पनि सक्छौं,’ उनले भने।

प्रकाशित मिति: : 2022-09-17 19:10:00

प्रतिकृया दिनुहोस्