गठबन्धनको राजनीतिले देश बन्दैन : प्रभु साह 

नेपाल कम्युनिष्ट पार्टि एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले गठबन्धनको राजनीतिबाट देश बन्न नसक्ने बताएका छन्।

शनिबार कनकपुरमा आयोजित नेकपा एमाले गुजरा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिले देशलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुको विकल्प नरहेको बताए।

विकास र समृद्धिका लागि स्थिरता जरुरी रहेको बताउँदै पूर्वमन्त्री साहले फरक फरक धरातलका दलहरुको गठबन्धनले स्थिरता सम्भव रहेको जिकिर गरे।

स्थिरताका  लागि एउटा स्पष्ट पार्टीलाई जनादेश दिएको खण्डमा मात्र देश समृद्धिको यात्रामा अगाडि बढ्न सक्ने बताउँदै उनले समृद्ध नेपाल निर्माण गर्न सक्ने स्पष्ट खाका नेकपा एमालेसंग मात्र रहेको जिकिर गरे। उनले आगामी चुनावमार्फत नेकपा एमालेलाई उक्त अभिभारा प्रदान गर्न जनसमुदायलाई आह्वान गरे।

‘अहिले तपाईं हामी सबैले चाहेको एउटा कुरा हो कि नेपाल तीव्र विकासको दिशामा अगाडि बढोस्, समृद्धिको यात्रामा अगाडि बढोस्। विकास र समृद्धिका लागि सबैभन्दा पहिले देशमा स्थिरता जरुरी छ। तर दुर्भाग्यवश देशमा गठबन्धनको राजनीति चलिरहेको छ। १० फरक पार्टी १० फरक विचार र १० फरक नेताको भागबण्डाले देशको तरक्की न कहिल्यै भएको छ न हुन सक्छ।’

पूर्वमन्त्री साहले भने, ‘एक नेता एक पार्टी एक विचारले मात्र स्थिरता हुन सक्छ। त्यसैले समृद्ध नेपाल निर्माणका लागि एउटा स्पष्ट पार्टीलाई जनादेश जरुरी छ। समृद्ध नेपाल निर्माणको स्पष्ट खाका नेकपा एमालेसंग मात्र छ, देशको नेतृत्व गर्न सक्ने नेता केपी ओली मात्र हो। अहिले जुन गठबन्धन र भागबण्डाको अनैतिक राजनीतिको अभ्यास भइरहेको छ यसलाई अन्त्य गर्दै मङ्सिर ४ गते हुने आम निर्वाचनबाट नेकपा एमालेलाई स्पष्ट जनादेश दिन आम जनसमुदायलाई आह्वान गर्न चाहन्छु।’

सत्ता हासिल गर्न कुनै कसर बाँकी नराख्ने वैचारिक रुपमा विचलित एवम् स्खलित झुण्डको वर्तमान संघीय र प्रादेशिक सरकारले जनजीविकाका विषय तथा विकास निर्माणका कार्यहरु ठप्प पारी बजेट लुट खसोटमा लागेको उनको आरोप छ।

समावेशिता, मौलिक हकलगायतका संवैधानिक अधिकारहरु हनन गर्दै वर्तमान गठबन्धनले देशमा महङ्गी, भ्रष्टाचार बढाएको भन्दै पूवमन्त्री साहले नेकपा एमालेको सरकार केपी ओलीको नेतृत्वमा मात्र देश सही ट्र्याकमा आउने बताए।

उनले हरेक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रबाट नेकपा एमालेलाई विजयी बनाएर गठबन्धनलाई कडा जवाफ दिन आग्रह गरेका छन्।

अधिवेशनबाट सुरेश चौधरीको अध्यक्षतामा नगर कमिटीको चयन गरिएको हो। कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह, प्रदेश कमिटी सदस्यहरु मौलापुर नपाकी मेयर रीनाकुमारी साह, देवाही गोनाही नपाका मेयर प्रेमलाल साह, कटहरियाका पूर्वमेयर सियाराम कुश्वाहा, गुजरा नपाका मेयर प्रत्यासी एकरामुल हक, राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य एवम् जिल्ला ईन्चार्ज निवेश यादव लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-09-11 13:30:00

प्रतिकृया दिनुहोस्