नागरिकता विधेयकमाथिको छलफलबाट बाहिरियो एमाले, बुधबार पारित गर्ने तयारी

Photo - setopati
Photo - setopati

नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ।

सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकबाट एमाले बाहिरिएको हो।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा फिर्ता पठाएकी थिइन्। तत्पश्चात बसेको प्रतिनिधिसभा बैठकले पुनः विनासंशोधन जस्तोको तस्तै पारित गरि राष्ट्रियसभामा पठाएको छ।

राष्ट्रियसभाले थप छलफल र पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा आइतबार सो विधेयक पठाएको छ। यसपछि सोमबार बसेको विधायन समितिमा सो विधेयकमाथि छलफल भएको छ। उक्त छलफल नै छाडेर एमाले बाहिरिएको हो।  यद्यपि, एमाले बैठक भने बहिस्कार गरेको भने होइन।

बैठक चलिरहँदा बाहिर अर्काे बैठकमा सहभागी हुनुपर्ने भन्दै एमाले सांसद बाहिरिएका हुन्। एमाले सांसदहरु बाहिरिएपछि बैठक १६ भदौ दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ। आगामी बुधबार बस्ने बैठकले सो विधेयक पारित गर्ने समितिको तयारी छ। 

प्रकाशित मिति: : 2022-08-29 16:18:00

प्रतिकृया दिनुहोस्