राष्ट्रपति भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता पठाइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता पठाएकी छन्।

राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्तिमा उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको जनाइएको छ।

१५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन्।


राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक सदनमै फर्काउने तयारी


'राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ‚' राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

विधेयक प्रमाणीकरणबारे राष्ट्रपति भण्डारीले यसबीचमा कानूनी परामर्श पनि गरेकी थिइन्। उनले कानुनका जानकार र अन्य सहयोगीसँग पनि यसबारे छलफल गरेकी थिइन्। 

गत साउन ६ गते संघीय संसद्‌बाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो। पारित विधेयकमा छ, '०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ।'

प्रकाशित मिति: : 2022-08-14 19:41:00

प्रतिकृया दिनुहोस्