मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई मनोनयनको औपचारिक पत्र पठाउने जिम्मेवारी नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ।
कांग्रेसको आज बसेको कार्यसम्पादन बैठकले सभापति देउवालाई यस्तो जिम्मेवारी दिएको हो।
यस्तै, निर्वाचनका लागि निर्वाचन अयोगमा पार्टी दर्ता गर्ने, निर्वाचन लक्षित अभियान सञ्चालन गर्ने लगायत निर्णय पनि बैठकले गरेको छ।
यी हुन् बैठकका निर्णयहरू
१. २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिन्छ।
२. २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने।
३. २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने।
४. २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (७) (क) (ख) (ग) र (घ) बमोजिमको प्रक्रिया पुयाई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत् निर्देशन गर्ने।
५. आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भदौ २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भाद्र १० गतेदेखि २४ भदौसम्म सञ्चालन गर्ने।