चाँडै सिट बाँडफाँटको टुंगो लाग्छ : सञ्चारमन्त्री कार्की

File Photo
File Photo

सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय भने गरेन।

कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सकारात्मक कुराकानी भएको, सिट बाँडफाँटबारे विभिन्न मोडालिटीमा छलफल भएको बताए।

उनले चाँडोभन्दा चाँडो कार्यदललाई तोकिएको जिम्मेवारी पूरा गर्ने बताए। ‘बैठक सकारात्मक भयो। विभिन्न मोडालिटीमा कुराकानी भयो। चाँडै सिट बाँडफाँटको टुंगो लाग्छ,’ उनले भने।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँटका लागि पार्टीका आधार प्रस्तुत गरेका थिए।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट गगन थापा र सञ्चारमन्त्री कार्की सदस्य छन्।

माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।

प्रकाशित मिति: : 2022-08-11 16:23:00

प्रतिकृया दिनुहोस्