सामाजिक अभियानका नायक योगेन्द्र 

Breaknlinks
Breaknlinks

भर्खरै बिएसी पास गरेका योगेन्द्र मण्डललाई आफ्नो गाउँ वरिपरीको विपन्न बालबालिका देखेपछि मन कस्तो-कस्तो भयो। त्यहीमाथि बच्चाहरु स्कुलमा नगएको देखेपछि भने उनलाई केही गरौँ-गरौँ भन्ने मनमा हुटहुटी चल्यो।

यही छटपटी र हुटहुटीका बीच उनले २०५२ सालमा आफ्नो घर वरिपरीका बालबालिकालाई स्वयमसेवकका रुपमा ट्युसन पढाउन मन लाग्यो। त्यसपछि उनले बालबालिकालाई भेला गरेर ट्युसन पढाए।

मोरङको अमाहीबरियातीमा उनले सुरु गरेको यो अभियानबाट पनि उनलाई सन्तृष्टि मिलेन। फेरि उनले ‘समाज रुपान्तरण र समृद्धिका लागि जीवन विकास’ नामक संस्था खोले। आज त्यो संस्था सिंगो देशमा मात्र होइन, अन्तराष्ट्रिय स्तरमा नै ख्याती कमाउन सफल भएको छ।

वि.स. २०२८ साल असारमा हालको धनपालथान २ मोरङमा जन्मिएका योगेन्द्रको समाज सेवाबाट अहिले ठुलो अभियान छेडिएको छ। गरीबरहित नेपालको परिकल्पना गर्दै शिक्षा, कृषि र लघुवित्तमा काम गरेका योगेन्द्रले समाज रुपान्तरणका लागि आफूले नेतृत्व गरेको संस्थालाई बलियो बनाउँदै लगेका छन्।

उनले मोरङको धनपालथानमा जीवन विकास पब्लिक विद्यालय सञ्चालनमा ल्याएका छन्। सँगसँगै गाउँमा बालबालिकाका लागि स्याहार केन्द्रहरु पनि सञ्चालनमा छन्।

उनले सञ्चालन गरेको जीवन विकासको माध्यमबाट सञ्चालित जीवन विकास लघृवित्तले दशौँ हजारको फुसको छानाको घरलाई टिनको छानामा रुपान्तरण गरिदिएको छ। हजारौँको घर बनाइएको मात्र छैन, पढ्न नसक्नेहरुले पढ्न पाएका छन्।

उनले नयाँ कन्सेप्टमा जीवन विकास सामुदायिक अस्पताल निर्माणको चरणमा छ। १९ विगाह जग्गामा सामान्य नागरिकहरुलाई सेवा दिने उद्धेश्यसहित यसलाई अगाडि बढाउने तयारीमा छ।

केही समय अघिदेखि आधुनिक कृषि प्रणलीलाई विकास गर्ने उद्धेश्यले कस्टम हाइरिङ सेन्टर सञ्चालनमा छ। यसले किसानलाई उपकरणहरु भाडामा दिने र सहुलियतमा बिक्री गर्नेसमेत योजना ल्याएको छ।

त्यसो त उनले स्वयसेवक दिवसका दिन गरीबहरुको घर निशुल्क बनाइदिने अभियान पनि चलाएका छन्। गाउँमा बाँझो खेत राखेका या खेती गर्न नसक्नेलाई भाडाबापतको रकम दिएर पनि बाँझो खेतमा खेती लगाउने अभियानको पनि नेतृत्व गरेका छन्। मण्डल भन्छन्, ‘खाद्यमा आत्मानिर्भर र गरीबरहित नेपाल बनाउने अभियानमा नै यी सबै काम गरिरहेको छु।’

उनको अभियानबाट दुई हजारभन्दा बढीले रोजगारी पाएका छन्। उनले २० वर्षअघि ‘लौन केही गरौँ’ भन्ने विश्व बैंक र नेपाल सरकारको २० हजार डलरको प्रोग्राममा उनी प्रतिस्पर्धाका आधारमा छनोटमा परेका थिए। यस्ता कयौँ अभियानबाट प्राप्त रकम सदुपयोग गर्दै उनले आफ्नो. अभियानलाई अगाडि बढाइरहेका छन्।

शिक्षामा योगदान गरेको आधारमा अरब गल्फ फन्डबाट केही समयअघि तीन करोडको पुरस्कारसमेत उनले हात पारेका छन्। विगतलाई सम्झिँदै उनी भन्छन्, ‘मसँग जीवन विकास खोल्ने बेलामा पैसा पनि थिएन। ५/७ सय जुटाउन पनि धौधौ थियो। कयौँ पटक पुराना साइकलमा गाउँगाउँ डुलेर जीवन विकासको अभियानलाई अगाडि बढाएको छु।’

सामान्य किसान परिवारमा त्यही पनि तराई समुदायबाट योसम्मको प्रगति हुनु ठुलो उपलब्धि हो। उनी अहिले पनि आफ्नो गाउँ-ठाउँ बनाउने र गरिबीबाट आम नागरिकलाई उकास्ने आफ्नो योजना रहेको सुनाउँछन्। भन्छन्, ‘विगतका आफ्ना दुखलाई आत्मासाथ गर्दै सबैलाई खुसी बनाउने मेरो लक्ष्य छ। विश्वासका साथ लागेको छु।’

प्रकाशित मिति: : 2022-08-01 21:50:00

प्रतिकृया दिनुहोस्