पहिरो प्रभावितको उद्धार, राहत र व्यवस्थानको व्यवस्था मिलाउन गृहमन्त्रीकाे निर्देशन

अछाममा पहिरोले पुरिँदा एकैघरका तीन जनाको मृत्यु


गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा आइतबार राति गएकाे पहिरो र त्यसले पुर्याएकाे क्षतिबारे जानकारी लिँदै आवश्यक पर्ने उद्धार र राहतकाे कार्यमा कुनै कसुर बाकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफाेन गरेर आवश्यक पर्ने सहयाेगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै घाइतेको यथाशीघ्र उपचार र तत्कालकाे राहत उपलब्ध गराउन निर्देशन दिएका हुन्।

आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको प्रजिअ मरासिनीले जानकारी दिएका छन्।

६५ वर्षीया नैना विष्टको भने जिवितै उद्धार गरेर अस्पताल पुर्याइएकाे मरासिनीले जानकारी दिएका छन्। उनको अवस्था सामान्य रहेको छ। पहिरोमा पुरिएर केही चौपाया पनि मरेका प्रजिअ मरासिनीले बताएका छन्।

घरमुली अमर भने कामका सिलसिलामा घर बाहिर रहेकाे जानकारी आएको र अहिले पहिराे राेकिएकाे उनले बताएका छन्।

प्रकाशित मिति: : 2022-07-25 08:57:00

प्रतिकृया दिनुहोस्