सुमेरियन, इजिप्सियन र ग्रीकहरूले ५ हजार वर्षअघिदेखि लिपस्टिकको प्रयोग गर्दै आएको पाइन्छ। मिडिल एजमा यो श्रृंगार सामग्रीले सारा युरोपमा तहल्का पिटेको थियो र त्यतिबेला लिपस्टिक यौनकर्म र बोक्सीप्रथासँग मात्रै सम्बन्धित थियो।
रानी एलिजाबेथ प्रथमले प्रयोग गरेपछि त १६ देखि १८औँ शताब्दीसम्म लिपस्टिक युरोपका कुलीन महिलाहरूको प्रमुख सौन्दर्य सामग्री बन्यो र १९औँ शताब्दीदेखि यो सर्वसुलभ हुन थालेको हो।
यसपछि प्रमुख रुपमा हलिउड सिनेमाका नायिकाहरूले प्रयोग गर्न थालेपछि यो विश्वभर छ्यापछ्याप्ती हुन थालेको हो।
लिपस्टिकको इतिहास खोतल्दा यो कथित सौन्दर्य सामग्री यौनकर्मसँग अभिन्न रुपले गाँसिएको पाइयो। यौनकर्मी महिलाहरूले आफूलाई अरुभन्दा भिन्न देखाउन ओठमा लाली अर्थात् लिपस्टिक लगाउने प्रचलन थियो।
पश्चिमी संसारमा महिलालाई कामुकता र सौन्दर्यको सबैभन्दा शक्तिशाली प्रतीकमध्ये एक मानिन्छ। पुरुषलाई यौनका लागि आकर्षित गर्न नै महिलाहरूले लिपस्टिक वा अन्य श्रृंगार गर्ने प्रचलन थियो।
ग्रीसमा रातो लिपस्टिक लगाउने महिलालाई यौनकर्मी वा नगरबधू मानिन्थ्यो। उक्त मान्यताअनुसार कानुनहरू विद्यमान हुन्थे। मान्यता यति बलियो कि यदि कुनै यौनकर्मी महिला सार्वजनिक रूपमा, गलत समयमा वा तोकिएको निश्चित स्थानमा ओठमा लिपस्टिक तथा अनुहारमा अन्य श्रृंगार नगरी देखापरेको खण्डमा दण्डित हुनुपर्ने अवस्था थियो।
पुरानो जमानामा लिपस्टिक कुलीनताको प्रतीक थियो र कुलीन वर्गको आँगनमा मात्रै सीमित थियो। तर विस्तारै यो विश्वभर फैलिँदै गएको देखिन्छ। आखिर यौनकर्मीहरूलाई संरक्षण र प्रयोग गर्ने काम पुरानो जमानामा कुलीन वर्गकै हातमा हुने गर्दथ्यो।
यदि कुनै महिलाले आफ्नो विवाहको अघिल्लो दिनसम्म कस्मेटिक्स– विशेष गरी लिपस्टिक लगाएको खण्डमा विवाह रद्द गरिनुपर्ने मागसहित सन् १७७० मा एक ब्रिटिश कानुन संसदमा प्रस्ताव गरिएको थियो।
सन् १६५० मा पनि बेलायती संसदले लिपस्टिक लगाउन प्रतिबन्ध लगाउने विधेयकको प्रस्ताव गरेको थियो। तर चाखलाग्दो कुरा, यो पास भएन। बरु दुनियाँभरमा लिपस्टिकको माग ह्वात्तै बढ्न पुग्यो।
'मृत्युको चुम्बन' उपमा पाएको लिपस्टिक फुकस–अल्गिन, आयोडिन र ब्रोमिन म्यानाइटको खतरनाक मिश्रणबाट आएको हो, जुन इजिप्टका महिलाहरूले प्रयोग गर्ने गर्थे। माथिका पदार्थहरूबाट बनेको लिपस्टिक अत्यधिक विषाक्त हुने गर्दथे। जसले अक्सर गम्भीर रोग र अकाल मृत्यु पनि निम्त्याउने गर्दथ्यो।
यौनकर्म, कामुकता र यसको लोकप्रिय स्वीकृति नै लिपस्टिक लगाउनुका पुराना मान्यताहरू थिए। मेसोपोटामियामा महिलाले मात्रै नभएर पुरूषहरूले पनि आफ्नो ओठ रंगाउने गर्दथे। जसका लागि मूल्यवान ढुङ्गाहरू प्रयोग गरिन्थ्यो। क्लियोपेट्राले आफ्नो ओठसँग म्याच खाने सही रातो रंग खोज्न अनेक जनावरको रगत र किराहरू मारेर प्रयोग गरेको इतिहास छ।
उच्च कुलीनताको प्रतीक, पापको रातो रंगको चिन्ह र उत्पीडनको प्रतिरोधको प्रतीकको रूपमा भव्यता र प्रलोभनको मुख्य सौन्दर्य सामग्री भएको हो, लिपस्टिक।
अनादिकालदेखि नै महिला र पुरुषहरूले श्रिङ्गारको माध्यमबाट एकअर्कालाई छुट्याउन खोज्दै आएका छन्। उदाहरणका लागि- हिन्दूहरूले आफ्नो ओठ र दाँतलाई कालो बनाउन धेरै पहिले सुपारी प्रयोग गर्थे। सुपारी खाने चलन अझै छ। पान पनि ओठलाई रातो देखाउनै खाने गरिन्थ्यो। आज मानिसहरू किन पान खान्छन्? थाहा छैन!
आजको मितिमा विश्वको सबैभन्दा महँगो लिपस्टिकको दाम चौध मिलियन डलर छ। जसको नाम एच. कौचर ब्यूटी डायमण्ड लिपस्टिक हो। यो बाह्र सय गुलाबी हिरा र अठार क्यारेट सेतो सुनबाट निर्मित छ।
हरेक वर्ष ८०० देखि ९०० मिलियन रातो लिपस्टिक विश्वभर बेचिन्छ। जो प्रतिसेकेन्ड २७ ट्यूब बराबर हो।
सन् २०२३ मा विश्वको लिपस्टिक व्यापार झण्डै ४ मिलियन डलर भएकोमा यो २०३० मा साढे पाँच बिलियन डलर पुग्ने आँकलन गरिएको छ।
यस्तो हिसाब लेख्दै गर्दा अर्को विकराल तथ्यले मुटु हल्लाउँछ- विश्वका आठ बिलियन मानिसहरूमध्ये आठ सय पचास मिलियन मानिसहरू भोकमारीको चपेटामा छन्। महँगो खानाका कारण सय मिलियन मानिसहरू हरेक रात भोकै सुत्न बाध्य छन्। हरेक दिन २५ हजार वयस्क मानिस र १० हजार बालबालिकाहरू खाना खान नपाएर मर्ने गर्दछन्। प्रत्येक १० सेकेण्डमा एउटा मानिसको एउटा बच्चो खाना खान नपाएर मर्ने गर्दछ।
स्मरण रहोस्, माथि लिपस्टिकको मात्रै हिसाब गरिएको छ। अन्य सौन्दर्य सामग्री, बिलासिता र मान्छेका फुर्मासहरू हिसाब गर्ने हो भने झन् धेरै रकम निस्किन जान्छ र यी सबै कुराहरू स्वास्थ्यका लागि घातक छन्। भन्न खोजेको के हो भने- यहाँ एकातिर मान्छेहरू खान नपाएर मरिरहेका छन् भने अर्कातिर बिलासिता र तामझामका कारण पनि मान्छेहरू मरिरहेका छन्।
तपाईं भन्नुहोला, जन्मिएपछि सबैले मर्नैपर्छ। तर यहाँ उल्लेख गरिएको मृत्युचाहिँ अकाल मृत्यु हो। अशिक्षा, लापर्वाही र बिलासिताले उब्जाउने घातक अकाल मृत्यु।
लिपस्टिकका थप केही तथ्य
५ हजार वर्ष पहिले पुरातात्विक स्थलहरूमा फेला परेका कस्मेटिक केसहरूको आधारमा के अनुमान गरिएको छ भने प्राचीन सुमेरियनहरू नै लिपस्टिक लगाउने पहिलो मानव थिए। यी प्राचीन सौन्दर्य प्रशाधनहरू तेल र मोमसँग विभिन्न रत्नहरूको धूलो मिसाएर बनाउने गरिन्थ्यो।
पुरातन ग्रीसमा यौनकर्मीहरूलाई कानुनद्वारा रातो ओठको रंग पोत्नु अनिवार्य थियो। नत्र तिनीहरू उच्च वर्गका सम्मानित महिला हुन् कि भनेर भ्रम उत्पन्न हुनसक्ने भय त्यतिबेलाको समाजमा व्याप्त थियो। पुरातन ग्रीक लिपस्टिकमा जनावरको रगत प्रयोग हुन्थ्यो।
१६औँ शताब्दीको इङ्गल्याण्डमा रानी एलिजाबेथ प्रथमले रातो लिपस्टिकको लोकप्रियतालाई पुनर्जीवित गरिन्। यस समयमा रातो लिपस्टिक मोम र रातो बिरुवामा व्याप्त रङबाट बनाइएको थियो र त्यसलाई केवल उच्च वर्गका महिलाहरूले लगाउने गर्थे।
यद्यपि १७०० को दशकमा रातो लिपस्टिकलाई इङ्गल्याण्डमा निषेध गरिएको थियो। महिलाहरूले पुरुषहरूलाई विवाहका लागि फसाउन एक उपकरणको रूपमा सौन्दर्य प्रसाधनहरू प्रयोग गरिरहेको आरोप लागेको थियो।
यस्तै कानुन संयुक्त राज्य अमेरिकामा प्रचलित थियो, जहाँ यदि महिलाले विवाहभन्दा अघि रातो लिपस्टिक लगाएको थाहा भए सहजै विवाह रद्द गर्न सकिन्थ्यो।
पहिलो व्यावसायिक रूपमा उत्पादित लिपस्टिक १८८४ मा फ्रान्सेली अत्तर प्रयोगकर्ताहरूद्वारा आविष्कार गरिएको थियो। उक्त लिपस्टिक डियर टेलो, क्यास्टर आयल र मोमको संयोजनबाट बनाइएको थियो। त्यस समयमा लिपस्टिक धातु वा प्लास्टिकका ट्युबहरूमा नभएर कागजको ट्युबमा, सानो भाँडोमा वा कागजमा बेरेर बेचिन्थ्यो।
१८०० को अन्तमा, ग्वेर्लिन कम्पनीले अंगूर, मक्खन र मैनबाट बनेको रातो लिपस्टिक निर्माण गर्न थाल्यो। सियर्स रोबक क्याटलगले १८९० को दशकको उत्तरार्धमा ओठ र गालाको लागि 'रुज' बेचिरहेको थियो। १८०० सम्म कस्मेटिक्सको अप्रत्याशित प्रयोग पश्चिमी संस्कृतिमा फेशनेबल महिलाहरू बिच लोकप्रिय थियो।
मेटल लिपस्टिक ट्युबहरू १९११ मा उपलब्ध भए, यसले महिलाहरूलाई यात्रामा पनि लिपस्टिक प्रयोग गर्न सजिलो बनायो।
१९२३ मा आजकल प्रयोग गरिने खालका लिपस्टिक ट्यूबहरू जेम्स ब्रेस मेसन जूनियरद्वारा पेटेंट गरिएको थियो। दोस्रो विश्वयुद्धको समयमा धातु ट्यूबहरूलाई प्लास्टिक ट्यूबहरूद्वारा प्रतिस्थापित गरियो।
प्रतीकको रूपमा रातो लिपस्टिकले धेरै क्रमबद्धताहरू पार गरेको छ। सुरुमा दरबारभित्र वा कुलीन वर्गले मात्रै प्रयोग गर्ने लिपस्टिक त्यसपछि पुनर्जागरण काल र १९औँ शताब्दीको अन्त्यको बीचको पश्चिमी संसारमा सौन्दर्य सामग्रीहरूको ठेट् प्रयोग सम्मानित महिलाहरूको सट्टा अभिनेत्री र यौनकर्मीहरूसँग बढी जोडिएको थियो।
२०औँ शताब्दीको प्रारम्भमा शताब्दीयौँको पुरुष अधिकारले सौन्दर्य सामग्रीहरूको प्रयोगलाई सीमित गरेपछि रातो लिपस्टिक लगाउनुलाई महिला विद्रोहको कार्यको रूपमा हेरिएको थियो।
फ्ल्यापर आन्दोलन र आवाजविहीन चलचित्रहरूको उदयसँगै रातो लिपस्टिक विशेष गरी गाढा रातो लिपस्टिक धेरै लोकप्रिय भयो। यस समयमा रातो लिपस्टिकले महिलाको कामुकतालाई नै प्रतिनिधित्व गर्न थालेको मान्यता विकसित भइसकेको थियो। यसै कारणले गर्दा धेरैले लिपस्टिक लगाउने किशोरीहरूलाई भ्रष्ट हुन्छन् पनि भन्न थालियो। सन् १९३७ को एक सर्वेक्षणले के पत्ता लगायो भने ५० प्रतिशतभन्दा बढी किशोरीहरूले लिपस्टिक लगाउने बारेमा आफ्ना आमाबाबुसँग झगडा गर्दथे। रातो लिपस्टिक लगाएका केटीहरूले उत्तेजक कार्य गरेको आरोप त्यतिबेला सर्वत्र व्याप्त थियो।
१९५० को दशकमा रातो लिपस्टिकले मूलधारमा प्रवेश गर्यो। दुई तिहाई किशोरीहरूले १९५१ को एक सर्वेक्षणमा लिपस्टिक लगाउन मन पराएको रिपोर्ट दिए। अर्को सर्वेक्षणमा ९८ प्रतिशत अमेरिकी महिलाले दैनिक लिपस्टिक लगाउने दाबी गरे। तर त्यसअघिसम्म अमेरिका र युरोपमा आमरुपमा लिपस्टिकको विरोध भएको र लिपस्टिक बन्देज गर्ने कानुनसमेत संसदमा ल्याउनु परेको थियो।
यसरी समयका विभिन्न कालखण्डमा लिपस्टिकका प्रयोगकर्ता र परिभाषाहरू समेत फेरिँदै गएको पाइन्छ। तर समग्रमा महिलाहरूले पुरुषहरूलाई यौनिकरुपले आकर्षित गर्न नै यसको अत्यधिक प्रयोग हुने गरेको दाबी मनोविदहरूको छ।
के लिपस्टिक हानिकारक छ?
लिपस्टिकमा केही हानिकारक रसायन हुन्छन्। जस्तै: मर्करी, सिसा र क्याडमियम। यी रसायनहरू मानव स्वास्थ्यका लागि अति घातक मानिन्छन्। जसका कारण धेरै प्रकारका रोगहरू लाग्न सक्छन्।
धेरै लिपस्टिक लगाएको खण्डमा ओठ सुख्खा हुन सक्छ र फुट्न पनि सक्छ। यसले एलर्जी, ओठको रङमा परिवर्तन र अनुहारमा छालासम्बन्धी अन्य समस्या पनि निम्त्याउन सक्छ। लामो समयसम्म लिपस्टिक लगाउँदा ओठको रङ गाढा हुन सक्छ। फलस्वरुप ओठलाई पहिलेकै अवस्थामा फर्काउन गाह्रो हुन्छ। लिपस्टिक बढी लगाउँदा ओठ कलेटी पर्दछ र ओठको प्राकृतिक बनावटमा चुहावट पनि आउने गर्दछ।
खाना खाँदा लिपस्टिकको केही भाग हाम्रो शरीरभित्र पनि जान सक्छ, जसले पेटको समस्या निम्त्याउन सक्छ। नियमित लिपस्टिक लगाउने एउटी महिलाले दश वर्षमा ३ किलोसम्म लिपस्टिक निल्ने गरेको रिपोर्ट गुगलमा भेट्न सकिन्छ।
नियमित लिपस्टिक लगाउने महिलालाई चुम्बन गर्ने पुरुषले पनि केही मात्रामा लिपस्टिक निलिरहेको हुन्छ। कतिपय पुरुषलाई यो मन पर्छ। कतिपयलाई मन पर्दैन। तर विज्ञहरू लिपस्टिक राम्रोसँग नधोइ चुम्बन नगर्ने सल्लाह दिन्छन्। गर्भवती महिलाले लिपस्टिक लगाउनुले पेटको बच्चालाई नकारात्मक असर पर्ने गर्दछ। शिशुलाई दूध चुसाउने महिलाको लिपस्टिक लगाउने बानी छ भने बच्चा बारबार बिरामी हुन सक्छ। बच्चालाई खाना पनि नरुच्न सक्छ।
धेरै लिपस्टिकमा केही तत्व यस्ता हुन्छन्, जसले क्यान्सर निम्त्याउन सक्छ। यसबाहेक लिपस्टिकलाई लामो समयसम्म ताजा राख्न प्रयोग गरिने रसायनले पनि एलर्जीका साथै खोकी लाग्ने, टाउको दुख्ने, आँखामा जलन हुने, सास फेर्न गाह्रो हुने तथा वाकवाकी लाग्ने जस्ता समस्या निम्त्याउन सक्छ।
यति हुँदाहुँदै पनि किन त्याग्न सक्दैनन् महिलाहरूले लिपस्टिक?
यसको पछाडि अर्को ठूलो घोटाला छ। लिपस्टिकमा विभिन्न लागुऔषधको पनि समिश्रण हुने गर्दछ। जसको कारणले गर्दा लिपस्टिक लगाउने बानी परिसकेपछि यसलाई छाड्न निकै कठिन छ। एउटा जँड्याहा वा लागुऔषध प्रयोगकर्ताले आफ्नो नशा त्याग्न नसके जस्तै महिलाहरूलाई पनि बानी परिसकेपछि लिपस्टिकको प्रयोग त्याग्न अति कठिन हुने गर्दछ।
सुझाव: सकभर लिपस्टिक नलगाउनु नै बुद्धिमानी हुन्छ। ओठलाई नरम राख्ने र आकर्षक तुल्याउने अरु हजारौँ उपायहरू छन्। नौनी, जैतुन वा नरिवलको तेल मात्रै लगाउँदा पनि ओठ निकै स्वस्थ हुनुका साथै नरम र चम्किलो पनि देखिन्छ। ओठलाई आकर्षक र रसिलो बनाउन अमला, किम्बु, ऐँसेलु, काफल, दाडिम, अङ्गुर र खरबुजो जस्ता रसिला फलहरू नियमित सेवन गर्नु लाभदायक मानिन्छ। गुलाब, सयपत्री, गुँरास जस्ता फूलहरू चबाउने वा तिनको चिया खानाले पनि ओठलाई तन्दुरुस्त र आकर्षक बनाउन सकिन्छ।
(डिस्क्लेमर: केही दिनदेखि लगातार म महिलाहरूको प्रमुख सौन्दर्य सामग्री लिपस्टिक विषयक डेटा रिसर्च गरिरहेको थिएँ। अनि आज यो जानकारी मूलक लेख तयार भएको हो। कसैलाई व्यक्तिगत रुपमा आक्षेपित गर्न वा होच्याउन यो लेख लेखिएको होइन। आफ्नो काम नै लेख्ने भएकाले जहाँ-जहाँ जिन्दगीमा मुमुक्षा, कौतुहलता, चासो बढ्छ र कुनै कुरा घत पर्छ तब मेरो कलम यसरी नै नाच्न रुचाउँछ, छमछमी। कुनै काल्पनिक कुराहरू नभएर गुगल गर्दा भेटिएका विभिन्न तथ्यहरूका आधारमा लेख तयार भएको जानकारी गराउँदछु।)