शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो छ : खनाल

file photo
file photo

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको बताएका छन्।

फोकस नेपालले २०९औँ भानुजयन्ती एवं गुरुपूर्णिमाका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती विषयक अन्तक्र्रिया तथा सम्मान’ कार्यक्रममा उनले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको बताएका हुन्।

'संविधानले निर्देश गरेबमोजिम नेपालको शिक्षा क्षेत्रमा जुन किसिमले विकास हुनुपर्ने हो त्यो हुनसकेको छैन, यो नेपालको शिक्षा क्षेत्रका लागि विडम्बना हो, शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो छ' उनले भने।

पूर्वप्रधानमन्त्री खनालले तीनवटा विषयमा डिग्री गरेका व्यक्तिले समेत रोजगारी प्राप्त गर्न नसकेको गुनासो गरे। उनले अहिलेको साक्षरताले आगामी बाटो तय गर्न नसक्ने भन्दै नैतिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई जोड दिनुपर्ने बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षामा समयसापेक्ष विकास हुनुपर्ने बताए। 'देशको विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ' उनले भने।

राज्यमन्त्री श्रेष्ठले प्राविधिक शिक्षा अबको आवश्यकता भएको उल्लेख गरे। उनले शिक्षा र स्वास्थ्य क्षेत्र देशमा राम्रो हुनुपर्छ भनेर आफूले निरन्तर संसद्मा कुरा उठाउँदै आएको बताए।

उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवालले मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए।

शिक्षाको पहुँच ग्रामीण स्तरसम्म पुगे पनि गुणस्तरीय शिक्षा नहुँदा बेरोजगारीको समस्या भएको बताए। प्रविधिमूलक शिक्षालाई जोड दिनसके बेरोजगारीको अन्त्य हुने उनको भनाइ थियो।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको चर्चा गर्दै रोजगारी प्रदान गर्ने खालको शिक्षा दिनेगरी अबको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताए।

सोही अवसरमा नेपालको शिक्षा क्षेत्रको विकासमा विशेष योगदान पुर्याएका शैक्षिक संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो।
 

प्रकाशित मिति: : 2022-07-13 20:25:00

प्रतिकृया दिनुहोस्