गभर्नर बने एमालेका कमरेड ‘एम. अधिकारी’ !

file photo
file photo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थात् कमरेड एम. अधिकारी फेरि विवादमा तानिएका छन्।

उनी नेकपा (एमाले)का संगठित कार्यकर्ता हुन् वा होइनन्, चारैतिर चासो छ।

‘एम. अधिकारी’ पूर्वमन्त्री सदस्य घनश्याम भुसालको संयोजकत्वमा गठित एमालेको अर्थ तथा योजना विभागको सदस्य छन्। तर संयोजक भुसाल नै चिन्दैनन्, खोटाङका ती विज्ञ अधिकारी।

कर्मचारीतन्त्रको मूल्यमान्यताविपरीत पार्टीको विभाग सदस्य बनेपछि गभर्नर विवादित भएका हुन्।

एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन– अपानिमा अधिकारीको नाम देखेपछि राष्ट्र बैंकभित्रै खैलाबैला मच्चिएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको चर्चा सेलाउन नपाउँदै फेरि राजनीति वृत्त तातिएको छ।

एमाले स्रोतका अनुसार अर्थ तथा योजना विभागका सदस्य ‘एम. अधिकारी खोटाङ’ उनै गभर्नर महाप्रसाद अधिकारी नै हुन्।

अर्धभूमिगत रूपमा पार्टी संगठनमा खटिएका शिक्षक, कर्मचारी र पत्रकार वास्तविक नाम लुकाउँछन्। अधिकारीले पनि त्यसैगरी छोटकरी नाम उल्लेख गरेका छन्।

राष्ट्र बैंक ऐन २०५८ ले गभर्नर राजनीति पार्टीकाे कार्यकर्ता वा पदाधिकारी बन्नबाट वर्जित गरेको छ। ऐन, २०५८ को धारा २१ को (क) मा बैंक सञ्चालकको योग्यता किटान गर्दै भनिएकाे छ, ‘राष्ट्र बैंकका सञ्चालक, गभर्नर वा डेपुटी गभर्नर कुनै पनि पार्टीको सदस्य, पदाधिकारी वा कार्यकर्ता बन्न पाउँदैन।’

‘विवादित गभर्नर एमालेको अर्थ तथा योजना विभाग सदस्य बनेको’ भन्दै जताततै आलोचना भइरहेको छ। वहिर्गमित अर्थमन्त्री जनार्दन शर्मानिकट कार्यकर्ता तथा समर्थकहरूले गभर्नर अधिकारीकाे खुलेरै विराेध गरिरहेका छन्।

सार्वजनिक पदमा रहँदासम्म सक्रिय राजनीतिमा लाग्न नहुने गर्भनर खुलेआम राजनीतिक पार्टीमा लागेको गम्भीर आरोप छ।

नेकपा (एमाले) र भुसाल संयोजक रहेको विभागले अहिलेसम्म ‘एम. अधिकारी खोटाङ’ देखाउन सकेको छैन।

सूर्य–झण्डा बोकेको ‘बात’ लागेपछि गभर्नर अधिकारीले सामाजिक सञ्जाल र प्रेस चौतारीनिकट पत्रकारसँग मुख खोलेका छन्। उनले एमालेको अर्थ तथा योजना विभाग सदस्यमा आएको नाम आफ्नो नभएको प्रष्टीकरण दिएका छन्।

स्रोतका अनुसार उनी पहिल्यैदेखि एमालेका विभिन्न विभागको जिम्मेवारी सम्हाल्दै आएका छन्। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे अर्थ तथा योजना विभाग प्रमुख हुँदा १५औँ नम्बरमा उनै अधिकारी सदस्य थिए। तर अहिले बढुवा भएर ४औँ नम्बरमा उक्लिएकाे एमाले नेताहरूकै दाबी छ।

प्रेस चौतारीनिकट एक पत्रकार भन्छन्– एमाले समर्थकलाई एमाले नेता–कार्यकर्ताबाटै खतरा छ। पार्टीले ‘एम. अधिकारी खोटाङ’लाई अर्थ तथा योजना विभाग सदस्य बनाएको गोप्य सूचना पनि एमाले केन्द्रीय सदस्यले नै चुहाएका हुन्।

प्रकाशित मिति: : 2022-07-13 10:31:00

प्रतिकृया दिनुहोस्