गठबन्धन सरकारबाट जनता आजित: प्रभु साह 

File photo
File photo

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान गठबन्धन सरकारबाट जनता आजित भैसकेको बताएका छन्। 

सोमवार रौतहटको ईशनाथ नगरपालिकाको मन्सरीमा मुश्लिम धर्मावलम्बीहरुको पर्व बकरिदको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री साहले गठबन्धन सरकारको कार्यशैलीले जनतालाई निराश बनाउनुका साथै आक्रोसित समेत बनाएको बताए।

सरकारको भ्रष्ट चरित्रले गर्दा अचाकली महङ्गी बढ़ेको तथा जनता पिड़ित हुन थाले बताए। सुचनाको हकको संवैधानिक व्यवस्था समेत लत्याएर प्रमुख प्रतिपक्षी दलले मागेको एउटा सामान्य सिसिटिभी फुटेज मेट्याउने हर्कतले लोकतान्त्रिक व्यवस्थाको मजाक बनाइएको पूर्वमन्त्री साहको आरोप छ। 

"आज देश कुन हालतमा सबैले देखिरहेको छ। संसदमा जारी हंगामाले देशको राजनीतिलाई लज्जित बनाएको छ। सुचनाको हक आम नेपाली जनताको मौलिक हकको रुपमा रहेको छ, तर देशको सर्वोच्च संसदमा प्रमुख प्रतिपक्षीले एउटा सामान्य सिसिटिभी फुटेज माग्दा समेत फुटेज नष्ट गर्ने, बरु मन्त्रीले राजिनामा दिने तर सत्य तथ्या जानकारी नदिने जुन हर्कत भएको छ यसले लोकतन्त्रको मजाक बनाएको छ।" पूर्वमन्त्री साहले भने, "एकातिर संसदमा हुनुपर्ने कामकारवाही नगर्ने, अर्कोतिर सरकार संचालन मनोमानी ढंगले गर्ने प्रवृती हाबी भएको छ। जनताले थेग्न नसक्नेगरी महङ्गी बढेको छ। वर्तमान गठबन्धन सरकारबाट जनता आजित बनिसकेको छ । सरकारको विकल्प खोज्न जरुरी छ।" 

पूर्वमन्त्री साहले सतापक्षको गठबन्धन सरकार नभई ठगबन्धन सरकार रहेको टिप्पणी गरे। उनले ओली नेतृत्वको कम्युनिष्ट सरकारले सुरु गरेका विकास निर्माणका ठुल्ठुला योजनाहरु रोकेर विकासविरोधी गतिविधि समेत गरेको आरोप लगाएका छन्।

पूर्वमन्त्री साह बकरीदको शुभकामना आदानप्रदानका क्रममा रौतहटको परोहा नगरपालिका, राजपुर नगरपालिका, गौर नगरपालिका, गरुडा नगरपालिकालगायतका विभिन्न स्थानमा पुगेका थिए।

प्रकाशित मिति: : 2022-07-11 17:03:00

प्रतिकृया दिनुहोस्