विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सबैभन्दा कम उमेरमा पुगेर विश्व रेकर्ड कायम गरेका शम्भु तामाङको ६७ वर्षको उमेरमा निधन भएको छ।
बिहीबार बिहान १० बजेर १३ मिनेटमा उनको निधन क्यान्सर अस्पताल हरिसिद्धि उपचार्थ अवस्थामा भएको परिवार स्रोतले जानकारी गराएको छ।
केहि समयदेखि क्यान्सर र प्रोस्टेटको समस्याबाट पीडित तामाङको अस्पतालमा उपचार भइरहेको थियो।
'सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्नु भई विश्व कीर्तिमान राख्न सफल अत्यन्त सालिन, समाजसेबी शम्भु तामाङको अकस्मिक् निधनले स्तब्ध बनाएको छ,' नेपाल पर्वतारोहण संघका सदस्य राजेन्द्र लामाले भने, 'पर्वतिय पर्यटन क्षेत्रमा उनको योगदान अतुलनिय छ।'
उनले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको शिखरमा पाइला राख्दा उनको उमेर १७ वर्ष ७ महिना १४ दिनको थियो।
सिन्धुपाल्चोक जिल्लाको रिस्याङ्गखुमा जन्मिएका शम्भु तामाङले १४ वर्षकै उमेर देखि इटाली र युरोपका हिमालहरुमा पर्वतारोहण सम्बन्धी तालिम लिएका थिए।
नेपालको पर्वतारोहण तथा पर्यटन क्षेत्रमा विश्वभर किर्तिमान राखेका तामाङ एक वरिष्ठ पर्यटन व्यवसायी, दक्ष आरोही, पर्वतारोहण प्रशिक्षक तथा प्रेरणादायी व्यक्तित्वका रुपमा पर्यटन क्षेत्रमा परिचित व्यक्तित्व थिए।
सगरमाथाको सफल आरोहण पश्चात पर्वतारोहण सम्बन्धी योगदान पुऱ्याउने उद्देश्यले सन् १९७३ मा स्थापित नेपाल पर्वतारोहण संघका संस्थापक सदस्य हुन्।
उनकै अवधारण र पहलमा स्थापना भएको नेपाल पर्वतारोहण संघ अहिले पनि नेपालको पर्वतीय क्षेत्रको सबै भन्दा ठूलो संस्थाको रुपमा रहेको छ।
उनले संघको कार्यसमितिका सदस्य तथा सहसचिवसम्मको भूमिकामा रहेर कार्य गर्नुका साथै पर्वतारोहण सम्बन्धी तालिम दिने शुरुवातका प्रशिक्षक पनि हुन्।
पर्वतारोहणकै क्रममा उनले सन् १९८५ अगष्ट २८ का दिन दोस्रो पटक तिब्बत तर्फबाट सगरमाथाको सफल आरोहण गरे।
सगरमाथा आरोहणद्वारा देशको पहिचान झल्काउने तथा मित्रता बढाउने अभियानको रुपमा सन् १९८८ मा नेपाल-चीन जापान त्रिदेशीय सगरमाथा अभियानका उनी उप-नेता थिए।
नेपाल पर्वतारोहण संघको सल्लाहकार सदस्य रहेका उनलाई राज्यले सम्मान स्वरुप सन् २००३ मे ५ मा उनको नाममा एक स्मृति हुलाक टिकट जारी गरेको थियो।
पर्वतारोहिका अलावा उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि संलग्न रहदै आएका थिए।
सन् १९९२ मा स्थापित तिलगंगा आँखा अस्पतालका संस्थापक सदस्य र पछिल्लो समय कोषाध्यक्ष समेत रहेका थिए।
विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान विभुषित तामाङ स्वर्गीय राजा वीरेन्द्रबाट पनि सम्मान पाएका थिए। उनी श्रीमती, एक/एक छोरा र छोरीका साथ महाराजगञ्ज काठमाडौंमा बस्दै आएका थिए।