मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन : अर्थमन्त्री शर्मा

File Photo
File Photo

अर्थमन्त्री जनार्दन शर्माले आफूले अर्थ मन्त्रालयको सीसीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  सार्वजनिक महत्वको विषयमा बोल्दै उनले आफूले सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका हुन्। यसको ज्ञान पनि नरहेको उनको भनाइ छ।

‘मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन। यसको ज्ञान पनि छैन मसँग,’ उनले भने, ‘यो प्राविधिक कुरा हो, प्राविधिकले जान्ने विषय हो। गलत प्रचार गरियो।’

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागिरहेको छ।

पछिल्लो १३ दिनको मात्र फुटेज रहने र बाँकी आफैं मेटिँदै जाने अर्थ मन्त्रालयले बताएपछि नियोजित रुपमा डिलिट गरिएको आरोप पनि अर्थमन्त्री शर्मामाथि लागेको छ।

यस विषयमा छानबिन गर्न बुधबार सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय संसदीय विशेष छानबिन गठन गरेका छन्।

प्रकाशित मिति: : 2022-07-06 16:30:00

प्रतिकृया दिनुहोस्