बाबुराम भट्टराईलाई दबाबमा राख्न वीरगञ्जमा बैठक, जालान् त बाबुराम?

File Photo
File Photo

वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर अध्यक्ष उपेन्द्र यादवले आफूसँग असन्तुष्ट रहेका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईमाथि थप दबाब बढाएका छन्।

‘तीन सदस्य हेडक्वाटर’को सहमतिविना नै स्थानीय तह निर्वाचनमा टिकट वितरण गरेको, मन्त्रीमण्डल हेरफेरको अधिकार एकलौटी रुपमा लिएको लगायत विषयमा असन्तुष्ट रहँदै आएका भट्टराईमाथि भौगाेलिक रुपमा आफ्नो पकड क्षेत्र वीरगञ्जमा बैठक बोलाएर यादवले उनीमाथि दबाब बढाएका हुन्।

‘तीन सदस्यीय हेडक्वाटर’ अर्थात यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्रै कुनै पनि महत्वपूर्ण निर्णय लिनुपर्ने यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकअनुसार कार्य नगरेको भन्दै असन्तुष्ट रहेका भट्टराईलाई थप दबाबमा राख्न सो स्थान रोजिएको यादव निकट एक नेताले बताए।

‘भौगलिक रुपमा आफ्नो पकड क्षेत्र वीरगञ्जमा बैठक आह्वान गरेर सुरुमा नै भट्टराई पक्षधरलाई मनोवैज्ञानिक रुपमा कमजोर पार्ने र त्यस बैठकमा भट्टराई अनुपस्थित भए एकलौटी निर्णय लिएर अघि बढ्ने उदेश्यका साथ बैठक बोलाएको देखिन्छ,’ एक कार्यकारिणी सदस्यले भने, ‘सकेसम्म त वीरगञ्ज बैठकमा भट्टराई नआउन् र भट्टराई नआएको बैठकबाट आफू अनुकुलको निर्णय गराउन सकियोस् भन्ने अन्तर्यका साथ अध्यक्ष यादव अघि बढेको देखिन्छ।’

उनका अनुसार वीरगञ्ज बैठकमा भट्टराईको अनुपस्थिति देखाउँदै यादवले मन्त्रीमण्डल हेरफेरलगायत कार्यकारी अधिकार प्रयोग गर्न वैद्यानिक रुपमा बाटो खुल्ला भएको घोषणा गर्ने छन्।

यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार कुनै पनि महत्वपूर्ण निर्णय लिँदा तीन सदस्यीय ‘हेड क्वाटर’ अर्थात भट्टराई, यादवसहित अशोक राईको सहमतिअनुसार हुने भनिए पनि यसै साता मन्त्रीमण्डल सिफारिस गर्ने सो अधिकार यादवले लिएको सार्वजनिक भएसँगै पार्टी थप आन्तरिक विवादमा फसेको छ।

उता, केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले आगामी २७–२८ असारमा कार्यकारिणी समिति बैठक वीरगञ्जमा आह्वान गरेको  सार्वजनिक गरे पनि बैठकका बारेमा भट्टराईसहित उनी निकट नेताले अझै खबर पाएका छैनन्।

यादव निकट नेता मनिष सुमनले पार्टी कार्यालयबाट बैठकका बारेमा इमेलमार्फत खबर पाएको बताए पनि भट्टराई निकट अर्की नेतृ अमृता अग्रहरीले भने कुनै खबर नपाएको बताइन्।

‘मैले मिडियामार्फत खबर पाएको हुँ, अहिलेसम्म औपचारिक रुपमा वीरगञ्ज बैठकका बारेमा कुनै खबर आएको छैन,’ अग्रहरीले भनिन्, ‘उपेन्द्रजीले आजकाल कसैलाई खबर गर्ने कसैलाई नगर्ने गर्दै आउनुभएको छ, सायद अहिले हामीलाई पनि खबर नदिएको होला।’

तर, यादव निकट नेताहरूले भने इमेलमार्फत खबर प्राप्त गरिसकेका छन्। ‘वीरगञ्ज बैठकका बारेमा हामीलाई त खबर आएको छ, केहीलाई अझै नपुगेको भन्ने सुनियो, अब विस्तारै जाला,’ केन्द्रीय कार्यकारिणी समिति सदस्य मनिष सुमनले भने।

प्रकाशित मिति: : 2022-07-02 13:16:00

प्रतिकृया दिनुहोस्