देशको राजनीतिक संकट टार्न संविधान संशोधन गर्न जरूरी: प्रभु साह

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य प्रभु साहले देशको राजनीतिक संकट टार्न संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न जरूरी रहेको बताएका छन्।

देवाही गोनाही नगरपालिकाको छैटौं बजेट अधिवेशनको उद्घाटन गर्दै उनले आउँदो संसदीय निर्वाचनको सट्टा तत्काल संविधान संशोधन गरी कार्यकारी प्रमुखको व्यवस्था गरेर चुनावतिर लाग्नुको विकल्प नरहेको बताए।

नेता साहले संसदीय प्रणालीबाट मुलुकमा निरन्तर अस्थिरता पैदा भएको र त्यसैको फलस्वरुप देशमा भ्रष्टाचार र महंगी अचाक्ली बढेको बताए। 

बाम एकता जस्तो ऐतिहासिक प्रयासका साथै अन्य सबैखाले उपायहरु अपनाउदा समेत स्थिर सरकार दिन नसकेको बताउँदै नेता साहले जनताबाट प्रत्यक्ष निर्वाचित प्रमुखको व्यवस्था गरे मात्र अहिलेको संकट टर्ने उनकाे भनाई थियाे। 

‘मिश्रित संसदीय प्रणालीमा चलिरहेको देशको वर्तमान समयमा स्थिरता कायम गर्न धेरै प्रयासहरु भए। विगत विभिन्न दलहरुको सहकार्य देखि ऐतिहासिक बाम गठबन्धन हुँदै बहुमत सहितको नेकपा पार्टी निर्माणसम्मका प्रयासहरुले पनि ५ वर्ष सरकार टिक्न सकेन। अहिले पनि टालिटुलि बनाएको सरकार कुन दिन ढल्छ थाहा छैन' नेता साहले भने, 'यी सबै संकटको एकमुष्ट निवारण भनेकै संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नु हो।' 

अस्थिर सरकार तथा सत्ता टिकाउन जे पनि गर्न पछि नहट्ने अभ्यासका कारण देशमा भ्रष्टाचार र महंगी अचाकली बढेको उनको ठहर छ।

जारी संसद अधिवेशनबाट नै संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गनुपर्ने उनले बतारए। 

‘प्रधानमन्त्री बन्न पार्टी फुटाउने, विभिन्न जालझेल र षड्यन्त्र गर्ने कार्य रोक्न तथा कम्तीमा ५ वर्षे स्थिर सरकार निर्माण गर्नका लागी मुलुकमा अब आम नेपाली जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको नेतृत्व जरूरी छ’ उनले थपे, 'अबको ४/५ महिनामा हुने संसदीय निर्वाचनको सट्टा तत्काल अहिलेको संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गरेर प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्छ र आउँदो चुनाव कार्यकारी प्रमुखको चुनाव हुनुपर्छ। यस कार्यका लागि नेकपा एमालेले साथ दिनेछ।'

शक्ति पृथकीकरण र शक्ति सन्तुलन तालमेलको पनि अभावले गर्दा अस्थिरता र अराजकता अझ बढने निश्चित रहेकोले सबै मिलेर कार्यकारी प्रमुखको व्यवस्था गराउनेतर्फ लाग्नुपर्ने उनकाे भनाई छ। 

प्रकाशित मिति: : 2022-06-25 11:46:00

प्रतिकृया दिनुहोस्