मोरङ जिसस चुनाव : मेयर र उपमेयरको भोट नै क्रस

जिल्ला समन्वय समिति मोरङको मंगलबार भएको निर्वाचनमा गठबन्धनका मेयर र उपमेयरले नै क्रस मतदान गरेका छन्।

नेकपा एमालेको २१ मत र गठबन्धनको १३ मत भएको मोरङमा सदस्यहरुको मत तलमाथि भएपछि मत क्रस भएको हो।

एमालेका उम्मेदवारले २१ र गठबन्धनका उम्मेदवारले १३ मत ल्याउनुपर्नेमा एमालेबाट विजयी बनेका तीन जना सदस्यले आफ्नो मतभन्दा बढी ल्याएका छन्।

निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेकी दलित महिला सदस्य उमा नेपालीले २३ मत ल्याएकी छिन्। उनकी प्रतिस्पर्धी गठबन्धनकी गिता विश्वकर्माले ११ मत मात्र ल्याएकी छिन्।

यहाँ गठबन्धनका दुई जनाले मत क्रस गरेका छन्। त्यस्तै सदस्यमा एमालेका तुलसी प्रसाद घिमिरे र मित्रप्रसाद ढकालले २२/२२ मत ल्याएका छन्।

जिल्ला समन्वय समितिको सम्पूर्ण पदमा एमाले विजयी भएको छ।

यसअघि मोरङको बुढिगंगा, विराटनगर लगायतको पालिकामा पनि कांग्रेसबाट कार्यापालिका निर्वाचनमा अन्तर्घात भएको थियो।

मोरङमा कार्यापालिकाको निर्वाचनमा नेपाली कांग्रेसको देउवा प्यानल र कोइराला प्यानलबीच असन्तुष्टि भएकाले चुनावमा अन्तर्घात भएको हो।

प्रकाशित मिति: : 2022-06-14 15:44:00

प्रतिकृया दिनुहोस्