विदेश नीतिमा वर्तमान सरकार असन्तुलित बन्दै गयाे : नरेश शाही

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले आफ्नै पार्टी सम्मिलित सरकारप्रति कडा रूपमा प्रस्तुत भएका छन्। 

अध्यक्ष शाहीले विदेश नीतिमा वर्तमान सरकार असन्तुलित बन्दै गएको देखिन थालेकाे बताएका छन्। 

उनले भनेका, 'विदेश नीतिमा वर्तमान सरकार असन्तुलित बन्दै गएको देखिन थालेको छ। यसले देशलाई अन्तर्राष्ट्रिय रुपमा कुनै निश्चित सैनिक क्याम्पहरुमा आवद्ध गर्दैछ, जुन कुराहरु नेपाल र नेपालीको लागि अत्यन्तै घातक र दुर्घटनाका विषय हुन्। राज्य संचालकहरु वा त्यहाँसम्म सिधा पहुँच भएकाहरु केही व्यक्तिबाहेक अधिकांश, नेपालीभन्दा विदेशी (अरु नै मुलक) प्रति मन र चीन्ता भएकाहरु देखिए जुन कुरा झन ठूलो डर लाग्दो र चीन्ताजनक कुरा हो।'

उनले हाम्रो देश असंलग्न र पञ्चशीलको सिद्धान्तमा आधारित वैदेशिक नीति अंगालिरहेको मुलुक भएकाे भन्दै यो नै नेपालीकाे लागि उपयुक्त र व्यवहारिक भएकाे तर अहिलेको गठबन्धन सरकारले यसभन्दा विपरीत नीति र व्यवहारहरु अवलम्बन गर्दै गएको देखिएकाे बताएका छन्।

'सरकारले नेपाललाई अमेरिकन क्याम्पमा उभ्याउँदै छ। जुन कुरा हाम्रो राष्ट्रियता, भू-राजनीतिक अवस्था, दुई ठुला छिमेकीको पोजिसनका विरुद्ध हो र खासगरी एक चीन नीति, चीनियाँ राजनीति र त्यहाँको शासन व्यस्थाको विरुद्धको रणनीति हो। जुन कुराले नेपाललाई युक्रेनको दिशा उन्मुख गराउन सक्छ', उनले भनेका छन्।

'लामो समय चीनको राजदुत नियुक्ति गरिएन, युक्रेन आक्रमणमा अरुभन्दा अगाडि गएर विरोध गरियो। युएनमा रुसलाई डिनाउन्स गर्ने कुरा आयो नेपाल यसको पक्षमा उभियो। रुसलाई मानव अधिकारबाट नै निकाल्नु पर्छ भन्ने भयो यसमा स्वतन्त्र बस्यो। नेपाल सरकारको अनुमति र समन्वय बेगर अमेरिकाको तीब्बत मामिला हेर्ने उपविदेश मन्त्री आएर सिधै जावलाखेलस्थित तीब्बती क्याम्पमा जाने काम भयो', उनले भने, 'अहिले एशिया प्यासिफिक कमाण्ड हेर्ने सैनिक कमान्डर आएर सैन्य सहकार्यको छलफल गरिरहेको छन्।'

प्रधानमन्त्रीको प्रधान सेनापतीसहित अमेरिकाको लागि स्टेट भ्रमणको कार्यक्रम बनिरहेको भन्दै यसभन्दा ठूलो र खतरनाक सवाल त स्टेट पार्टनरसिप अथवा उटाह सम्झौता भएकाे बताए।

'प्रधानमन्त्रीको प्रधान सेनापतीसहित अमेरिकाको लागि स्टेट भ्रमणको कार्यक्रम बनिरहेको छ। यसभन्दा ठूलो र खतरनाक सवाल त स्टेट पार्टनरसिप अथवा उटाह सम्झौता हो। मिडियामा आएको सम्झौताको ड्राफ्टमा प्रष्ट लेखिएको छ- हिमाली क्षेत्रमा सैन्य कार्य गर्ने र त्यसलाई सैन्य साझेदारीको क्षेत्र बनाउने। यसले प्रष्ट देखिन्छ यो कुरा चिनको तीब्बत घेर्ने सैनिक रणनीति हो, जुन कुराको लागि चीन चुप लागेर बस्ला त ? यी विषयले नेपाल विस्तारै अमेरिकी सैन्य क्याम्पमा फसिरहेको देखिन्छ', उनले भने।

'अहिलेको सरकार गठबन्धनको सरकार हो, यो सरकारको स्टेकहोल्डर हामी पनि हौं। वर्तमान सरकारले विदेश नीति खासगर वर्तमान अवस्थामा अमेरिकासंग देखाइरहेको अस्वभाविक सैन्य सम्बन्धको र प्रधानमन्त्री, प्रधान सेनापतिको अमेरिका भ्रमण र कार्यक्रमको वारेमा पारदर्शी ढङ्गले आम जनताले जानकारी हुन सक्ने गरी सार्वजनिक गरियोस्। नेपालको वैदेशिक सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीति नै उपयुक्त हो। यसअनुसार नै सरकारले गम्भीरता पुर्वक आफ्ना कार्यहरु अघि बढाओस्', उनले उल्लेख गरेका छन्।

अमेरिकी सहयोग एमसीसी संसदबाट पास भएको केही महिनापछि सैन्य सम्झौता गर्ने अमेरिकी प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको सार्वजनिक भएपछि आमनागरिकले चासोका साथ हेरिरहेका छन्।

प्रकाशित मिति: : 2022-06-14 13:40:00

प्रतिकृया दिनुहोस्